७ बैशाख २०८१, शुक्रबार

उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा, सिटी र न्युक्यासल भिड्दै

barca city
फाइल फोटो

ला लिगा फुटबल गत साताबाटै सुरु भइसकेको छ । दोस्रो साता आइपुग्दा साविक विजेता रियल मड्रिडले लगातार दोस्रो जित निकालिसकेको छ भने साविक उपविजेता बार्सिलोना पहिलो जितको खोजीमा छ ।

पहिलो खेलमा घरेलु मैदानमै बार्सिलोना रायो भालेकोनोसँग गोलरहित बराबरीमा रोकियो । जाभि होर्नान्डेजको टिम बार्सिलोना आइतबार रियल सोसिडाड भ्रमणमा निस्कने छ । खेल नेपाली समयअनुसार राति पौने दुई बजे सुरू हुनेछ ।

तर, बार्सिलोनासँगको भेटअघि रियल सोसिडाड पक्कै रमाइलो फेसमा हुने छैन । किनकी पछिल्लो १२ लिग भेटमा २ मात्रै जित निकालेको छ ।

पहिलो खेलमा अट्याकर द्वय रोबर्टो लेवान्डोस्की र राफिन्हाले २१ प्रहार गर्दा पनि बार्सिलोना गोलविहिन भएको थियो । यसैले दोस्रो खेलमा बार्सिलोनाले गोल खाता खोल्न निकै संघर्ष गर्नुपर्नेछ ।

यस्तै, आज नै हुने पहिलो खेलमा सवा ११ बजे एथ्लेटिको मड्रिडले भिल्लारियलको सामना गर्नेछ ।

सिटी र न्युक्यासल भिड्दै

इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार तीन खेल हुँदैछन् ।

पहिलो खेलमा चेल्सीले लिड्स युनाईटेडको सामना गर्दैछ । यस्तै, वेष्ट ह्याम युनाईटेडले ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल पौने सात बजे सुरु हुनेछ ।

यता, साविक विजेता म्यानचेष्टर सिटीले न्युक्यासल युनाइटेडको भ्रमण गर्दै छ । खेल राति सवा ९ बजे सुरु हुनेछ ।

लिगको तेस्रो चरणमा सिटी सत प्रतिशत जित यात्रालाई निरन्तर दिन चाहन्छ । पेप ग्वार्डिओलाको सिटीले दुई खेलमा ६ अंक जोडेको ।

यता, न्युक्यासल समेत आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ । उ घरेलु मैदानमा बलियो मानेको सिटीलाई स्तब्ध बनाउने रणनीतिमा छ ।

जारी लिगका तीन खेलमा सत प्रतिशत जित सहित आर्सनल शीर्षस्थानमा छ । ७ अंक जोडेको टोटनहम दोस्रो स्थानमा छ ।