१५ चैत्र २०८०, बिहीबार

बाँकेमा संक्रमित ४७ जना भारतबाट आएका, गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर

Crimson hospital

गुल्मीका कोरोना भाइरस (कोभिड-१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो । उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन् ।

जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटर (कृतिम श्वासप्रश्वास) मा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको २ गते थ्रोट स्वाब संकलन गरेको थियो र भैरहवास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।

शिक्षक पेशामा आवद्ध उनको ट्राभल हिस्टी नभएको मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताए । उनले भने, ‘कसरी कोरोना लाग्यो, हामी अचम्ममा छौं ।’

बाँकेमा संक्रमित ४७ जना भारतबाट आएका

बाँकेको नरैनापुरमा आज एकैपटक कोरोना भाइरसबाट संक्रमण पुष्टि भएका ४७ जना भारतबाट आएका हुन्।

प्रदेश ५ का सामाजिक विकास मन्त्रालयका कोभिडका लागि फोकल पर्सन उमाशंकरप्रसाद चौधरीका अनुसार उनीहरुसबै भारतका विभिन्न ठाउँबाट आएर क्वारेन्टिनमा बसेका थिए।

उनीहरु पटक पटक गरी आएको चौधरीको भनाइ छ। उनले सबैको विवरण लिने काम भइरहेको जानकारी दिए। यसअघि पनि नरैनापुर क्वारेन्टिनमा ८ जनालाई कोरोना पुष्टि भइसकेको छ।

क्वारेन्टिनमा रहेका २६३ जनाको स्वाब संकलन गरिएकोमा आज १९२ जनाको रिपोर्ट आएको छ। त्यसमा ४७ जनाको पोजेटिभ देखिएको हो। बाँकी रिपोर्ट आएको छैन। संक्रमण देखिएका उनीहरुलाई मंगलबार मात्रै अस्पताल लगिने चौधरीले बताए।