१६ चैत्र २०८०, शुक्रबार

एक युवतीलाई साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन

Rape 2

पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नी साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख पाकिस्तानी रुपी माग गरेको बताइएको छ । मागेको रकम नदिएको युवतीको भिडियो सामाजिक सञ्जालमा राखिदिने चेतावनी दिइएको  जनाइएको छ ।

लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । युवतीलाई दुव्र्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो जसमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाइएको थियो ।

प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ । ‘पुलिसले दानिश र उनकी छोरी सहित सात संदिग्धहरूलाई पक्राउ गरेको छ र बाँकी संदिग्धहरूलाई पक्राउ गर्न छापा मारिरहेको छ’, पञ्जाब प्रहरीका प्रवक्ताले भने ।

पीडित युवती आफ्नी वृद्ध आमासँग बस्दै आएकी थिइन । उनका दुई भाइ बेलायत र अष्ट्रेलियामा छन् ।