१६ चैत्र २०८०, शुक्रबार

कहाँ कस्को अवस्था के ? देउवाबाहेक अरु पदाधिकारीका लागि निर्वाचन चुनौतीपूर्ण

pm sherbahadur deuba

निर्वाचनको मिति घोषणा भएसँगै नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई निर्वाचन लागिसकेको छ । कांग्रेसका शीर्ष तहका धेरै नेताले प्रत्यक्ष निर्वाचन लड्ने भन्दै तयारी थालेका छन् । तर स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा सभापति शेरबहादुर देउवाबाहेक अरु पदाधिकारीका लागि आउँदो निर्वाचन चुनौतीपूर्ण हुने देखिएको छ ।

२०४८ सालदेखि संसदीय निर्वाचनमा निरन्तर विजेता बनेका कांग्रेस सभापति शेरबहादुर देउवा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गृहजिल्ला डडेल्धुराबाट निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ ।

२०७४ को निर्वाचनमा शेरबहादुर देउवा २८ हजार ४ सय ४६ ल्याएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खगराज भट्टले २१ हजार ४ सय १८ मत ल्याउनुभएको थियो । अहिले भने डडेल्धुराको राजनीतिक अवस्थामा केही फेरबदल आएको छ ।

२०७४ मा देउवाका सारथी रहेका कर्ण मल्ल नेपाली कांग्रेस वीपीमा लाग्नुभएको छ भने माओवादी केन्द्र अहिले देउवाकै पक्षमा छ । देउवाका लागि मल्लले चुनौती थप्ने ठानिएपनि भट्टको साथले देउवाको अवस्था बलियो बनेको छ ।

७ स्थानीय तह रहेको डडेलधुरामा कांग्रेसले १९ हजार २ सय ७० मत, नेकपा एमालेले ७ हजार ४ सय ५० र माओवादीले ७ हजार १ सय ७ मत पायो ।

कांग्रेस वीपीले एमालेसँग गठबन्धन गर्दा पनि उल्लेख्य मत पाएन । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेलधुरामा एक्लै पनि बलिया देउवा अहिले सत्तागठबन्धनको साझा उमेदवार बन्दा सजिलै जित निकाल्ने अवस्थामा हुनुहुन्छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गृह जिल्ला तनहुँबाटै चुनाव लड्ने घोषणा गरिसक्नुभएको छ । सत्तागठबन्धनमा शीर्ष नेताहरुका लागि क्षेत्र सुरक्षित गर्ने मोटामोटी सहमति भइसकेकाले पौडेलले चाहँदा तनहुँ १ को टिकक पाउने सम्भावना बलियो छ । तर, जितका लागि भने पौडेललाई चुनौती छ । २०७४ को निर्वाचनमा तनहुँ १ मा वामगठबन्धनका उमेदवार किसान श्रेष्ठसँग पौडेल पराजित हुनुभयो ।

२०७४ को मत परिणाम
तनहुँ–१
किसान श्रेष्ठ – ३४ हजार ४ सय ९२ मत
रामचन्द्र पौडेल – २७ हजार ६ सय ९० मत
मतान्तर ६ हजार ८ सय २

पौडेललाई पराजित गर्ने श्रेष्ठ अहिले एउटै गठबन्धनमा हुनुहुन्छ । श्रेष्ठले पनि तनहुँ १ मा दाबा छाड्नुभएको छैन । एमाले विभाजन भएकाले पौडेललाई केही सहज देखिएपनि श्रेष्ठको व्यवस्थापन र कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीको चुनौतीले त्यति सहज छैन ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि सुर्खेत १ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ । २०४८ सालदेखि निरन्तर चुनाव जितेका खड्का २०७४ को निर्वाचनमा भने एमालेका ध्रुव शाहीसँग पराजित हुनुभयो ।

२०७४ को मत परिणाम
सुर्खेत–१
पूर्णबहादुर खड्का – ३३ हजार ३ सय ७७
ध्रुव शाही – ३६ हजार ८५९ मत

स्थानीय तहको निर्वाचनमा पनि खड्काको गृहनगरमा कांग्रेसले पराजय बेहोर्‍यो । स्थानीय तह निर्वाचनमा माओवादीसँग मिल्दा समेत कांग्रेसले पहिले जितेका २ पालिका गुमायो । खड्काकै गृहनगरमा कांग्रेस स्थानीय तह निर्वाचनमा पराजित भयो । उसो त खड्काका लागि कांग्रेसकै कोइराला गुटका हृदयराम थानीको व्यवस्थापन पनि चुनौतीपूर्ण छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि प्रत्यक्ष निर्वाचनको तयारीमा हुनुहुन्छ । काठमाडौं ४ बाट ०७४ मा निर्वाचित थापा यसपटक पनि सोही क्षेत्रबाट उमेदवार बन्दै हुनुहुन्छ भने शर्मा यसअघि पराजित झापा १ मा चुनावी तयारीमा हुनुहुन्छ ।

२०७४ को मत परिणाम
काठमाडौं– ४
गगन थापा– २१ हजार ५ सय ५८
डा. राजन भट्टराई ९वाम गठबन्धन० – १८,१४०

स्थानीय तहको निर्वाचनमा भने महामन्त्रीद्वय थापा र शर्मा दुवैका पालिकामा कांग्रेस पराजित बन्यो । यसपटक काठमाडौं ४ मा थापासँग पुरानै प्रतिष्पर्धी भट्टराई एमालेबाट उमेदवार बन्ने सम्भावना बलियो छ । स्थानीय तह निर्वाचनमा प्राप्त परिणामलाई हेर्दा भने थापालाई जित निकाल्न कठिन देखिन्छ ।

अर्का महामन्त्री शर्मालाई २०७४ मा झापा क्षेत्र नम्बर १ मा नेकपा माओवादीका नेता राम कार्कीले पराजित गर्नुभएको थियो ।

२०७४ को मत परिणाम
झापा–१
राम कार्की ९वाम गठबन्धन०– ३६ हजार १ सय ७३ मत
विश्वाप्रकाश शर्मा ९कांग्रेस०– ३३ हजार ३ सय १० मत
०७९ को स्थानीय निर्वाचनमा प्राप्त मत

स्थानीय तह निर्वाचनमा झापा–१ मा कांग्रेस एमालेभन्दा निकै पछि छ ।
एमाले – ३१ हजार २ सय ३२ मत
कांग्रेस – २४ हजार ५९ मत
माओवादी – ३ हजार ९ सय ९५ मत
नेकपा एकीकृत समाजवादी – १ हजार २ सय ५२ मत
राप्रपा – ६ हजार ९ सय २२ मत

गठबन्धनका अन्य पार्टीको मत जोड्दा यहाँ कांग्रेसले २९ हजार हराहारी मत पु¥याउँछ तर एमाले एक्लैको मत ३१ हजार बढी छ । एमालेसँग राप्रपाले गठबन्धन गरे ३६ हजारभन्दा बढी मत पुर्‍याउने देखिन्छ । स्थानीय चुनावको मत हेर्दा शर्मालाई झापा–१ कठिन देखिन्छ । उसो त शर्माका लागि झापामा चुनौती बनिरहेका काग्रेसभित्रैका कृष्ण सिटौला समूह मिलाउन पनि चुनौती छ ।

उपसभापति धनराज गुरुङ २ पटक समानुपातिकबाट सांसद बनिसक्नुभएको छ । यसपटक गुरुङ पनि मिले गृह जिल्ला स्याङजाबाटै उमेदवार बन्ने दौडमा हुनुहुन्छ । उमेदवार हुनैका लागि गुरुङलाई पुराना नेता गोपालमान श्रेष्ठ चुनौती बन्नुभएको छ । श्रेष्ठ ०७४ को निर्वाचनमा एमालेकी पद्मा अर्यालसँग स्याङ्जा २ मा ३ हजार ७ सय मतले पराजित हुनुभयो ।