१३ बैशाख २०८१, बिहीबार

चार दशकदेखि पटक-पटक चर्चामा पश्चिम सेतीको निर्माण, फेरि एक पटक सम्झौतापछि स्थानीय उत्साहित

pachim seti

करिब चार दशकदेखि पटक-पटक चर्चामा रहेको तर कहिल्यै बन्न नसकेको पश्चिम सेती जलविद्युत् आयोजनाको चर्चा फेरि एक पटक चुलिएको छ ।

सुदूरपश्चिम प्रदेशको समृद्धिको सपना पूरा गर्ने भनिएको यो आयोजना सधैं अलमलमा मात्रै पर्‍यो । तर अहिले भारतीय कम्पनीलाई सरकारले निर्माण अध्ययनको जिम्मा दिएपछि सुदूरपश्चिमका नागरिक उत्साहित भएका छन् ।

वर्षौंदेखि एउटै कुरा सुन्दै आएका डडेल्धुराको ढुंगाड क्षेत्रका बासिन्दालाई पश्चिम सेतीको कुरा गर्दा व्यङ्ग्य गरेजस्तै लाग्छ । हरेक निर्वाचनका बेला राजनीतिक दलका नेताले आयोजनाको मीठो सपना बाँड्ने गरेको चार दशक भइसक्दा पनि पूरा भएको छैन ।

अहिले भने नेपाल र भारतीय सरकारी कम्पनी बीच आयोजना निर्माणको अध्ययन गर्ने सम्झौता भएपछि स्थानीय केही उत्साहित देखिएका छन् ।

कहिले फ्रान्सेली, कहिले अस्टे्रलियन त कहिले चिनियाँ कम्पनीले ओगटेको यो आयोजनाको अध्ययन गर्ने जिम्मेवारी सरकारले बिहीबार भारतीय कम्पनीलाई दिएको हो ।

७५० मेगावाट क्षमताको यो आयोजना निर्माण भए सुदूरपश्चिम प्रदेशकै ठूलो आयोजना बन्ने मात्र होइन, नागरिकको जीवन माथि उकास्नसमेत सहयोग पुग्ने छ ।

तर लामो समयसम्म चुनावी नारामा मात्रै आयोजना सिमित हुन पुगेको छ । अहिले पनि निर्वाचन नजिकिादै गरेका बेला भएको सम्झौतामा आशंका गर्न भने स्थानीयले छोडेका छैनन् ।

पटकपटक सम्झौता हुने तर निर्माण नहुने नियती यो आयोजनाले भोग्दै आएको छ । पश्चिम सेती परियोजना लागू भए डोटी, बैतडी, बझाङ र डडेल्धुराका नागरिकका लागि रोजगार अवसर समेत सिर्जना हुने छन् । तर निर्वाचनको मुखमा आएर गरिएको सम्झौता चुनावी नारामा मात्रै सीमित नहोस् भन्ने स्थानीयको अपेक्षा छ ।