१३ बैशाख २०८१, बिहीबार

घट्दो विदेशी मुद्रा सञ्चिति नेपालको अर्थतन्त्रका लागि चुनौती

money

कोभिड महामारीको चपेटाबाट माथि उठ्न नपाउँदै रुस र युक्रेनबीचको युद्धले विश्वकै आपूर्ति प्रणालीमा असर देखिएको छ । अहिले धेरै मुलुकमा खाद्य र उर्जा संकट छ ।

यस्तो संकटले दक्षिण एसियाली मुलुकलाई समेत छोएको छ । घट्दो विदेशी मुद्रा सञ्चिति नेपालको अर्थतन्त्रका लागि चुनौती बनेको छ ।

दक्षिण एसियाकै उन्नत अर्थतन्त्र मानिएको श्रीलंका टाट पल्टिएको केही समय नबित्दै पाकिस्तान र बंगलादेशमा आर्थिक संकट देखिएको छ ।

उनीहरुले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)लाई गुहारेका छन् । त्यस्तै विश्वकै छैटौं ठूलो अर्थतन्त्र भएको भारतमा पनि वैदेशिक मुद्राको सञ्चिती १५ महिना यताकै न्यून छ ।

कोभिडका कारण टुटेको विश्वको आपूर्ति शृङ्खला रुस-युक्रेन युद्धका कारण थप प्रभावित भएपछि अर्थतन्त्रमा थप चुनौती देखिएका छन् । यसले आगामी दिनमा नेपालको अर्थतन्त्रलाई पनि प्रभावित पार्ने जोखिम बढेको छ ।

पछिल्लो एक वर्षमा नेपालको मुद्रासमेत कमजोर बनेको छ । भारतबाट ठूलो लगानी अमेरिका पलायन भएपछि भारतसाग स्थिर विनिमय भएको नेपाली मुद्रा एक वर्षमा डलरको तुलनामा १० रुपैयाँले कमजोर भएको हो ।

दक्षिण एसियाली मुलुक श्रीलंकामा सबैभन्दा बढी मुद्रास्फिति ६० प्रतिशत छ । त्यस्तै नेपालमा साढे ८, भारतमा ७, बंगलादेशमा साढे ७ प्रतिशत छ । नेपालमा विदेशी मुद्रा सञ्चिति ९ अर्ब ४५ करोड छ । जसले ६ महिनाको आयात धान्न पुग्छ ।

बंगलादेशको ३८ अर्ब डलर वैदेशिक मुद्रा सञ्चितिले५ महिनाको मात्रै आयात धान्छ । बंगलादेशको चालु खाता घाटा १७ अर्ब डलर हुँदा नेपालमा ५ सय ९५ अर्ब रुपैयाँ छ ।

एक वर्षको बीचमा बंगलादेशको वैदेशिक मुद्रा सञ्चिति ४५ अर्ब डलरबाट घटेर ३८ अर्बमा झरेको छ । चालु खाता घाटा १७ अर्ब डलर छ भने मुद्रा २० प्रतिशत अवमूल्यन भएको छ । त्यस्तै पकिस्तानमा वैदेशिक मुद्राको सञ्चिति १४ अर्ब डलर मात्रै छ भने मुद्रा ४० प्रतिशतले अवमूल्यन भएको छ ।

क्षेत्रीयसँगै अन्तर्राष्ट्रिय परिवेश प्रतिकूल हुादै जाँदा आर्थिक मन्दीको जोखिम बढेको छ । ठूला देशको अर्थतन्त्रमा देखिएको संकुचनको प्रभाव पर्न नदिन नेपालले समयमै प्रभावकारी कदम चाल्नुपर्छ ।