१२ बैशाख २०८१, बुधबार

आफ्नो क्षेत्रमा कति सुरक्षित छ जना पूर्वप्रधानमन्त्रीहरु ?

all

आगामी मंसिर ४ गतेको निर्वाचनपछि नेपालले ४१ औं प्रधानमन्त्री पाउनेछ । शेरबहादुर देउवासहित हाल छ जना पूर्वप्रधानमन्त्रीहरु सक्रिय राजनीतिमा हुनुहुन्छ ।

पार्टी नेतृत्वमा समेत रहेकाले आगामी चुनावपछि उहाँहरुमध्ये नै फेरि प्रधानमन्त्री हुने सम्भावना छ । स्थानीय तह र अघिल्लो संसदीय परिणाम अनुसार उहाँहरु आफ्नो क्षेत्रमा कति सुरक्षित हुनुहुन्छ त ?

शेरबहादुर देउवाः अति सुरक्षित

देशमा प्रजातन्त्र प्राप्तिपछि भएका लगातार ६ वटा चुनाव डडेलधुराबाटै जितेका देउवा यो पटक पनि निकै सुरक्षित देखिनुहुन्छ । विक्रम संवत २०७४ सालको निर्वाचनमा तत्कालीन माओवादी केन्द्र र एमाले एकै ठाउँमा उभिएर चुनाव लड्दा पनि देउवा ७ हजार बढी मतले विजयी हुनुभएको थियो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचन
शेरबहादुर देउवा, नेपाली कांग्रेस २८ हजार ४ सय ४६ मत
खगराज भट्ट, एमाले र माओवादी गठबन्धन २१ हजार ४ सय ९८ मत
मत फरक ६ हजार ९ सय ४८

स्थानीय तहको मत परिणामलाई हेर्दा पनि देउवा बलियो देखिनुहुन्छ । कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्ल विद्रोह गर्दै कांग्रेस विपीमा प्रवेश गर्दा पनि त्यहाँ कांग्रेसकै पल्लाभारी देखियो ।

२०७९ को स्थानीय तह निर्वाचन
पालिका प्रमुखहरूको कुल मत जितेको वडा
नेपाली कांग्रेस २२ हजार २९
माओवादी केन्द्र १२ हजार १३
नेकपा एमाले ७ हजार ४

यसअघिको प्रतिनिधिसभा निर्वाचन र यो पटकको स्थानीय तह निर्वाचनको परिणामलाई हेर्दा देउवा जितको नजिक देखिनुहुन्छ ।

केपी शर्मा ओलीः गठबन्धनको छैन डर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २०७४ सालमा झापा क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रसँग सहकार्य गरी चुनावमा जाँदा निकतम प्रतिद्वन्द्वीभन्दा झण्डै दोब्बर मत ल्याएर विजयी हुनुभएको थियो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचन
केपी शर्मा ओली, एमाले र माओवादी गठबन्धन ५७ हजार १३९ मत
खगेन्द्र अधिकारी, नेपाली कांग्रेस २८ हजार २९७ मत
फरक मत २८ हजार ८ सय ४२

स्थानीय तहको मत परिणामले पनि ओलीलाई सहज हुने देखिएको छ । ओलीको निर्वाचन क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका ८ वडा र गौरीगञ्ज गाउँपालिकाका ४ वडा पर्छन् । कुल २९ वडा पर्ने यो निर्वाचन क्षेत्रमा वडाध्यक्षले प्राप्त गरेको मतले पनि ओली सुरक्षित हुनुहुन्छ भन्ने देखाउँछ ।

२०७९ को स्थानीय तह निर्वाचन
वडा अध्यक्षहरुको कुल मत
नेकपा एमाले ४१ हजार ६१९ मत
नेपाली कांग्रेस २२ हजार २१ मत
माओवादी केन्द्र १० हजार ७८८ मत
राप्रपा ८ हजार
नेकपा एकीकृत समाजवादी १ हजार ८६० मत

सुरक्षित क्षेत्र खोज्दै माधवकुमार नेपाल
२०७४ को निर्वाचनमा काठमाडौं २ बाट निर्वाचित नेपालको क्षेत्रमा स्थानीय तह निर्वाचनमा पार्टी कमजोर देखिएपछि पुरानै क्षेत्र रौतहट १ बाट चुनाव लड्दै हुनुहुन्छ । रौतहट १ भनेको गौर, राजदेवी, माधवनारायण नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिका तथा गढीमाई नगरपालिकाका ३ वडा र गरुडा नगरपालिकाको १ वडा हो । वडाध्यक्षहरुको विजयी संख्या हेर्दा नेपाल एक्लाएक्लै वा गठबन्धन जसरी लडे पनि रौतहट १ मा सुरक्षित देखिनुहुन्छ ।

२०७९ को स्थानीय तह निर्वाचन
विजयी वडा अध्यक्ष संख्या
एकीकृत समाजवादी १७
नेपाली कांग्रेस ९
माओवादी केन्द्र ५
नेकपा एमाले ३
लोसपा ३
स्वतन्त्र १

प्रचण्डमाथि प्रचण्ड पहाड
दुई पटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आगामी निर्वाचनमा पनि कांग्रेसकै भर पर्नुपर्ने देखिएको छ । चितवन ३ बाट २०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनमा जित्नुभएका प्रचण्डलाई स्थानीय तह निर्वाचनले पनि बलियो देखाएको छैन ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचन
पुष्पकमल दाहाल प्रचण्ड, एमाले र माओवादी गठबन्धन ४८ हजार २ सय ७६ मत
विक्रम पाण्डे, राप्रपा र कांग्रेसका साझा उम्मेदवार ३८ हजार ९ सय ३५ मत
मत फरक ९ हजार ३ सय ४१

२०७९ को स्थानीय तह निर्वाचन
भरतपुरका १९ वडामा विजयी अध्यक्ष
नेपाली कांग्रेस १०
माओवादी केन्द्र ३
नेकपा एमाले ३
एकीकृत समाजवादी २
स्वतन्त्र १
माडी नगरपालिकामा राप्रपा र एमालेको गठबन्धनबाट वडाध्यक्षमा विजयी

तथ्याङ्क हेर्दा प्रचण्डलाई एक्लै निर्वाचनमा जाँदा जित्न कठिन हुने देखिन्छ ।

झलनाथ खनाललाई पनि गठबन्धनकै भर
२०७४ को निर्वाचनमा इलाम क्षेत्र नम्बर १ मा वामगठबन्धनबाट झलनाथ खनाल झण्डै दोब्बर मत ल्याएर विजयी हुनुभयो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचन
झलनाथ खनाल, एमाले र माओवादी गठबन्धन ३६ हजार ८०५ मत
भुपेन्द्र कट्टेल, नेपाली कांग्रेस १७ हजार १६७ मत
मत फरक १९ हजार ६ सय ३८

खनालको निर्वाचन क्षेत्रमा सूर्योदय नगरपालिका र रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका तथा इलाम नगरपालिकाको वडा नम्बर १० र माई नगरपालिकाका ७ वडासहित कुल ३९ वडा समावेश छन् । वडाको विजयी तथ्याङ्क हेर्दा विना गठबन्धन खनालले जित निकाल्न सक्ने अवस्था देखिन्न ।

२०७९ को स्थानीय तह निर्वाचन
विजयी वडा अध्यक्ष संख्या
नेपाली कांग्रेस १६
नेकपा एमाले १५
नेकपा एकीकृत समाजवादी ६
जसपा १
स्वतन्त्र १

एमालेको २६ हजार र कांग्रेसको २५ हजार मत रहेको यो क्षेत्रमा खनालको पार्टी एकीकृत समाजवादीको मत ९ हजार मात्र छ ।

बाबुराम भट्टराईको हालत पनि उस्तै
नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईका लागि आगामी प्रतिनिधिसभा निर्वाचन कठोर परीक्षा हुने देखिन्छ । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा फराकिलो अन्तरले चुनाव जित्नुभएका भट्टराईले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको सहयोगमा एमाले माओवादीको साझा उम्मेदवारलाई पराजित गर्नुभयो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचन
बाबुराम भट्टराई, नयाँ शक्ति र कांग्रेस गठबन्धन ३१ हजार ८०७ मत
नारायणकाजी श्रेष्ठ, एमाले माओवादी गठबन्धन २४ हजार ९३३ मत
मत फरक ६ हजार ८ सय ६४

भट्टराईको निर्वाचन क्षेत्रमा पालुङटार नगरपालिकाका १० वडा, सिरानचोक गाउँपालिकाका ८ वडा, अजिरकोट गाउँपालिकाका ५ वडा, बारपाक सुलिकोट गाउँपालिकाका ८ वडा र गोरखा नगरपालिकाका ७ वडासहित ३८ वडा समावेश छन् । वडामा विजयी उम्मेद्वारको संख्या र वडाध्यक्ष पदले प्राप्त गरेको मत हेर्दा बाबुरामलाई जित कठिन हुने देखिन्छ ।

२०७९ को स्थानीय तह निर्वाचन
विजयी वडा अध्यक्ष संख्या
माओवादी केन्द्र १८
नेपाली कांग्रेस १७
जसपा ३

२०७९ को स्थानीय तह निर्वाचन
वडाध्यक्षले प्राप्त गरेको कुल मत
माओवादी केन्द्र २१ हजार ८५५ मत
नेपाली कांग्रेस २१ हजार ९६ मत
नेकपा एमाले ७ हजार ९२६ मत
जसपा ७ हजार मत

२०७४ सालको प्रतिनिधिसभा र २०७९ सालको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको तथ्याङ्कलाई आधार मान्ने हो भने पूर्व प्रधानमन्त्रीमध्ये शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपाललाई जित निकाल्न कठिन नहुने देखिए पनि पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र बाबुराम भट्टराईलाई भने एक्लै चुनावी मैदानमा जाँदा जित निकाल्न कठिन हुने देखिन्छ ।