७ बैशाख २०८१, शुक्रबार

आयु सकिएसँगै कोशी ब्यारेजमा खतरा बढ्दै, क्षति पुग्नासाथ ठूलो भूभाग तहसनहस हुने

koshi barrage flood

कोशी ब्यारेजको आयु सकिएको ५ वर्ष पूरा भएको छ । निर्माणका क्रममा ५० वर्ष आयु भनिएको ब्यारेजको आयु सकिएसँगै खतरा थप बढेको छ ।

पछिल्ला वर्षहरुमा पानीको बहाव थोरै हुँदासमेत वस्तीहरु जोखिममा परिरहेका छन् भने यो बाँधमा केही क्षति पुग्नासाथ आसपासका जिल्लाको ठूलो भूभाग तहसनहस हुने अवस्था छ ।

पाँच दिनअघि उदयपुरको बेलका नगरपालिका–१ डुम्रीबोटेबाट सप्तकोशी पुरानै धारमा बग्न शुरु गरेको छ । जसले बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाका विभिन्न स्थानको वस्ती जोखिममा परेका छन् ।

२०४५ सालको भूकम्पपछि धार परिवर्तन गरेको कोशीले पुनः सोही धार समात्न खोजेपछि त्यहाँका २ हजार ५ सय घर परिवार विस्थापनको जोखिममा छन् । पूर्वी पहाडी क्षेत्रमा वर्षा शुरु हुन थालेसँगै कोशीमा पानीको बहाब बढ्छ ।

पानीको बहाब २ लाख ५० क्युसेक हजारमाथि कट्नेबित्तिकै कोशी ब्यारेजको कन्ट्रोल रुममा भारतबाट खटिएका कर्मचारीहरुले खतराको संकेत स्वरुप रातो बत्ती बालेर रातो झण्डा फहार्याउँछन् । आफ्ना नागरिकलाई सुरक्षित बनाउने स्वार्थका कारण कोशी ब्यारेजका भारतीय कर्मचारीले नेपाली भूभाग जति डूबानमा परे पनि टुलुटुलुु हेरेर बस्छन् ।

नेपाल र भारतबीच २५ अप्रिल १९५४ मा कोशी सम्झौता भएको थियो । त्यसपछि सन् १९६२ सम्ममा १ हजार १ सय ५० मिटर लामो र १० मिटर चौडा कोशी ब्यारेज निर्माण भएको थियो ।

सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा स्पातको ढोका रहेको कोशी ब्यारेजसँग निर्माणपछिको सुरुवातमा ९ लाख ५० हजार क्यूसेक प्रतिसेकेण्ड दरको पानी थेग्नसक्ने क्षमता थियो । यसको लम्बाई एक हजार १ सय ४९ मिटर छ । सन् १९९० यता कोशीमा पानीको बहाव ५ लाखभन्दा कमै रहेको तथ्याङ्कले देखाउँछ । तर २ लाख क्यूसेकको हाराहारीमा पानीको बहाव रहेकै अवस्थामा ०६५ सालमा कोशीको पूर्वी तटबन्ध भत्किएको थियो ।

सन् १९६२ मा निर्माण भएको कोशी ब्यारेजको आयुु ५० वर्ष मात्र हो । आयूु लम्बिदै जाँदा यसको पानीको बहाव सहन क्षमतासमेत कमजोर बनेको छ । यहीकारण ०६५ साल भदौ २ गते सामान्य बहावमै कोशीको पूर्वी तटबन्ध भत्किएर वितण्डा मच्चिएको थियो । त्यतिबेला ३२ जनालाई कोशीले बगाएको थियो भने ७ हजार ५ सय ६५ घरपरिवार विस्थापित भएका थिए ।

कोशी ब्यारेजको आयु ५५ वर्ष पूरा भइसक्यो । यसको अर्थ कोशी ब्यारेज जुनसुकै बेला भत्किनसक्ने खतरा रहेको भारतीय प्राविधिकहरुले नै बताउने गरेका छन् । आयु नै सकिइसकेको ब्यारेज धेरै बहाव थेग्न नसकेर भत्कियो भने त्यसले नेपालको सुनसरी र सप्तरीको अधिकांश भूभाग तहसनहस बनाइदिन्छ । तसर्थ कोशी कटान र नियन्त्रणका लागि नेपाली पक्षले विशेष पहल गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।