आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्छ : झाँक्री

नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफू शहरी विकासमन्त्री हुँदा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनावद्ध रुपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको हो ।
उहाँले आफ्नो कार्यकालमा शहरी विकास मन्त्रालयको टिमले हरेक आयोजना कार्यान्यनको विषयमा योजना बनाएर काम गरेको बताउनुभयो ।
झाँक्रीले शहरी विकासमन्त्री हुँदा विकास निर्माण सम्बन्धी महत्वपूर्ण नीतिहरु परिर्माजन गर्ने, आयोजनाको तयारी गर्दा आयोजनाको सम्भाव्यता अध्ययनमा विशेष जोड दिएको बताउनुभयो ।
उहाँले अहिले पनि आयोजनाले पार्ने प्रभावको विश्लेषण गरेर मात्रै हरेक आयोजनाको तयारी गर्नुपर्ने बताउनुभयो । झाँक्रीले नीतिगत तहमा अनियमिता रोक्नको लागि समिति बनाएर प्रतिवेदन तयार पारेको पनि उल्लेख गर्नुभयो ।
उहाँले उपभोक्ता समितिले गर्ने काम गुणस्तरहीन र असार मसान्तमा आएर काम सक्ने गरेकाले अख्तियारले समेत प्रश्न उठाएको बताउनुभयो । सचिव झाँक्रीले आफू मन्त्रीख हुँदा मन्त्रालयबाट स्वीकृत योजनाहरु सबै सार्वजनिक खरिद प्रक्रियाबाट गर्ने प्रयास गरेको बताउनुभयो ।