७ बैशाख २०८१, शुक्रबार

वैकल्पिक सडक व्यवस्थापनको पहल

IMG 87c33ceb75bf3af24a1f9c12599e4146 V

डुम्रे–बेसीशहर सडकअन्तर्गत उदिपुरमा पहिरो गएसँगै वैकल्पिक सडक व्यवस्थापनका लागि पहल सुरू भएको छ । बेसीशहर–१ उदिपुर पहिरोका कारण सडक भास्सिएर अवरुद्ध भएसँगै दीर्घकालीन व्यवस्थापनका निम्ति वैकल्पिक सडक व्यवस्थापनको पहल भएको हो ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिले वैकल्पिक सडक व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफलसहित थप पहल गर्ने निर्णय गरेको हो । 

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतामा बसेको बैठकले वैकल्पिक सडकको रूपमा उदिपुर–रिठ्ठेवगर, मध्य मस्र्याङ्दी  बाँध हुँदै बेसीशहर आउने सडकलाई प्रयोगमा ल्याउनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको हो ।

सो सडक प्रयोग गर्दा मध्यमस्र्याङ्दी जलाशयको बाँध प्रयोगमा ल्याउनु पर्ने र सो बाँधमा यातायात सुचारु गर्नका लागि सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने भएकाले त्यसका लागि अनुरोध गर्ने निर्णय भएको प्रजिअ वैद्यले बताए । 

बाँधमा यातायात सञ्चालनका लागि ऊर्जा तथा जलस्रोत मन्त्रालय, नेपाल विद्युत प्राधिकरण, सडक विभागलगायतका निकायसँग अनुमति माग्ने निर्णय भएको प्रजिअ वैद्यको भनाइ छ ।

यसअघि पहिरोमुनिबाट नेपाली सेनाको ब्यारेक र पहिरो माथिबाट अर्कै सडक प्रयोगमा ल्याए पनि यातायात सेवा सहज नभएको भन्दै विभिन्न व्यक्ति तथा निकायले तत्काल र दीर्घकालीन सहज यातायातका निम्ति व्यवस्थापन गर्न प्रशासनको ध्यानाकर्षण गराउँदै आएका थिए । 

सम्बन्धित निकायबाट अनुमति प्राप्त भएमा सो सडक खण्डको बाँकी भाग मर्मत तथा स्तरोन्नति गरी केही वर्षका लागि यातायात सुचारु गर्न सकिने प्रशासनले जनाएको छ ।

सरोकारवालाले ध्यानाकर्षण गराएसँगै उदिपुरदेखि चितीतर्फ जाने सडकखण्डमा रहेको रिठ्ठेबगर मस्र्याङ्दी नदी मोटरेबल पुलबाट व्यारेक पारि हुुँदै मध्यमस्र्याङ्दीको बाँधबाट पुनः मुल सडकमा जोडिने गरी वैकल्पिक सडक व्यवस्थापन गर्ने पहल भएको प्रजिअ वैद्यको भनाइ छ ।

उदिपुरमा पहिरोले सडक भत्किएपछि यात्रुसँगै व्यवसायीहरूले निकै सास्ती पाएका छन् । वैकल्पिक दुईवटा सडक प्रयोगमा आए पनि निरन्तर वर्षात् र जीर्ण सडकका कारण यात्रुहरूले निकै सास्ती भोग्नुपरेको छ । 

पहिरोले सडक भत्किएपछि लमजुङ सदरमुकाम बेसीशहरसहित हिमाली जिल्ला मनाङसम्मको यातायात प्रभावित हुँदै आएको छ ।

उदिपुरमा गत वर्ष नै पहिरोले सडक बगाएको हो । सडक भत्किएको वर्षदिन बित्दा पनि मर्मतको पहलसम्म नभएको भन्दै स्थानीय आक्रोशित भएका छन् । सडकको दीर्घकालीन टिकाउ हुनेगरी समयमै मर्मत तथा स्तरोन्नति गरेको भए अहिले समस्या नहुने सर्वसाधारणको बुझाइ छ ।

    सम्बन्धित समाचार...