८ बैशाख २०८१, शनिबार

दुई अर्बभन्दा बढीको काजु र बदामा खान्छन् नेपालीले एक वर्षमा

kaju Dray food

एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । 

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु र बदाम आयात गरेको विभागले जनाएको छ । सो अवधिमा २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम नेपाल भित्रिएको छ । 

विभागका अनुसार गत आर्थिक वर्ष १ अर्ब १७ करोड २५ लाख ७९ हजार रुपैयाँको १४ लाख ३४ हजार २१० केजी काजु र ८४ करोड १८ लाख २३ हजार रुपैयाँको १३ लाख १४ हजार ७४६ केजी बदाम नेपाल भित्रिएको थियो । 

नेपालमा भारत, भियतनाम, अष्ट्रेलिया, चीन, हङकङ, जापान, मोजाम्बिक, नाइजेरिया, सिंगापुर र दक्षिण अफ्रिकाबाट काजु आउने गरेको छ । यस्तै, भारत, अमेरिका र अफगानिस्तानबाट बदाम आउने गरेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट २ अर्ब ८ करोड ४७ लाख ९३ हजार रुपैयाँको काजु र बदाम आयात गरेको थियो । 

    सम्बन्धित समाचार...