६ चैत्र २०८०, मंगलवार

बाँदर र बँदेलले हैरान बनायो : गोकुल बास्कोटा

Gokul Baskota
फाइल फोटो

नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले काभ्रेमा बाँदर र बँदेलले किसानलाई हैरान बनाएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बास्कोटाले दशौं हजार रोपनीमा लगाएको अन्नबाली बाँदर र बँदेलले नोक्सान गरेको बताए। त्यसको रोकथामको लागि सरकारले कुनै काम नगरेको बताए।

उनले भने– ‘स्थानीय पालिकामा भन्यो बजेट आएको छैन भन्छन्, प्रदेशमा भन्यो संघले बजेट दिँदैन, संघमा कुरा गर्यो विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताका कारण त्यसलाई नियन्त्रण गर्न सकिँदैन।

किसानलाई पेन्सन दिन्छु भनेर सरकारले घोषणा गरेको पनि डेढ महिना बित्यो। अब तिनले के पाउँछन्?’ उनले त्यो ठाउँमा बाँदर र बँदेलबाट जोगाउने अरु कुनै उपाय नभएको उनले बताए।

उनले संघीयताले जनताले केही फेला नपारेको बताए। जनताले प्रदेश सरकार फेला नपारेको र स्थानीय तहमा कर्मचारी नभएर काम नहुने उनले बताए।

पुलिसलाई भन्दा आठ–नौ सय सांसदलाई सलामी गर्दैमा बित्ने र जनता असुरक्षित रहेको उल्लेख गरे। उनले भने– ‘यहाँ मैले सुन्न त सुनेँ, संघीयताको बारेमा प्रश्न गरे कान झिकिदिन्छु, आँखा फुटाइदिन्छु भन्ने जस्ता कुरा पनि। हरेक व्यवस्थाहरु के का लागि बन्छन् भन्दा जनतालाई राहत सहुलियत दिन, मुलुकलाई सुशासन दिन, देशको आर्थिक सामाजिक प्रगति गर्न गरिन्छ। कसैले पनि समावेशीताको विरोध गरेको छैन्।

तर आन्दोलनमा पनि नउठेको, आन्दोलनकारी जनताको मागपनि नभएको, ल्याउनेलाई थाहा पनि नभएको, अहिले जनताले यो खालको हबिगत भोग्नुपरेको छ।’

उनले दशैंमा घर जान वीपी हाइवेमा जनताले कष्ट पाउने गरेको बताउँदै उनीहरु गाडीमा चढ्ने र झर्ने बस स्टपहरुको व्यवस्था गर्न माग गरे।