७ बैशाख २०८१, शुक्रबार

लामिछानेलाई लक्षित गर्दै ओलीले भने- ‘रवी लामिछाने देश भँडुवा हुन्, हामी सचेत रहनुपर्छ’

ravi and oli

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवी लामिछानेलाई लक्षित गर्दै देश भडुवाको संज्ञा दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

‘अहिले त एउटा पत्रकार नचाहिने नचाहिनो काम गर्यो । एउटा जमातले साथ दियो भनेर अहिले त अब नेता भइयो भनेर चाहीँ । कुन पत्रकार नेता भनेर कुदेको छ । को अर्को भनेर कुदेको छ । नेता र पार्टीलाई अपमान गरेको छ ।

कुसंस्कार कुसंस्कृति र असभ्यता सिकाएको छ,’ उनले भने,‘यो सबै कुरासँग हामी सतर्क हुनुपर्छ । यो देश विगार्ने भाँड्ने तरिका हो । भँडुवाहरुको तरिका हो । यस्ता भँडुवा तरिकासँग हामी सचेत रहनुपर्छ । पार्टी विना दुनियाँ कहिँ चलेको छैन ।’

केही वर्ष टेलिभिजन प्रस्तोताको रुपमा कार्यरत रवि लामिछानेले उक्त पेशा परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल गठन गरेर राजनीतिमा होमिएका थिए ।

मंसिर ४ गते रबिबार र एकादशी हो, यसपाली मासुभातले काम गर्दैनः रबि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीसँग कुनै चुनावी एजेण्डा नै नभएको बताएका छन् । ठूला भनिएका पार्टीसँग आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकतासमेत नभएको दाबी गरे ।

बुटवलमा आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले ६÷६ जना पूर्वप्रधानमन्त्रीले गर्व गर्न लायक कुनै काम नगरेको दाबी गरे ।

लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले अब यस्ता काम नगर्ने पूर्वप्रधानमन्त्री र ठूला भनिएका पार्टीलाई जनताले चिन्ने बेला आएको बताए । उनले नेपाली मतदाता मासुभातमा बिक्छन भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यसपटक तोड्नुपर्ने बताए ।

‘यसपाली चुनावका दिन एकादशी र आइतवार अर्थात् रबिवार परेको छ । मासुभातले समेत काम गर्ने छैन’, उनले भने, ‘आफैँ पढेको त्रिचन्द्र कलेजको दूरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन ?’ उनले ठूला पार्टीहरूले जनतालाई झुक्याइँ मात्रै राखेका दाबी गर्दै त्यस्ता झुटको पछि नलाग्न आग्रह गरे ।

उनले आफू नेतृत्वमा आएमा २४ सैं घण्टा नागरिकको समस्या सुन्ने संयन्त्र वातावरण बनाउने बाचा गरेका छन् । ‘भ्रष्टाचार हेर्न नसक्ने अख्तियार, भ्रष्टाचारीको फाइल हेर्न नमिल्ने न्यायालयको के काम’ भन्दै उनले जनताको असली शासन व्यवस्था आफूहरूले ल्याउने बताए ।

अध्यक्ष लामिछानेले अहिले जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहे पनि आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको बताए । उनले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने बताए ।

केही समय अघिसम्म ‘सिधा कुरा’ टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेका लामिछाने पार्टी गठन गरेर संगठन विस्तारमा हिँडेका हुन् । उनी पश्चिम नेपालबाट संगठन विस्तार गर्दै पूर्वतर्फ आइरहेका छन् ।