२० आश्विन २०७९, बिहीबार

पूराना दललाई स्वतन्त्रसँग केको त्रास, ओलीको अभिव्यक्तिको आशय के ?

Rabi Lamichhane

स्वतन्त्र पार्टी बनाएर रवी लामिछाने चुनावी अभियानका लागि देश दौडाहमै रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्रहरुलाई भँडुवा भन्नु भएको छ ।

यो समयमा एकातिर लामिछानेको मनोबल उच्च हुँदै गएको छ भने अर्कातिर स्थापित पार्टीहरु यस्ता अभियानको विरोध गर्न थालेको जस्तो देखिन्छ । दलहरुमा यो डर किन पलाइरहेको छ ?

सञ्चारकर्म छोडेर राजनीतिमा होमिएका रवी लामिछाने यतिबेला पश्चिम नेपालको दौडाहमा हुनुहुन्छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र पार्टी बनाएर निर्वाचन लड्ने घोषणा गरेका लामिछाने सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएका भेलाबाट हौसिँदै लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भेला गर्दै हुनुहुन्छ । यी भेलाहरुबाट रवी लामिछानेले राम्रै सन्देश पाएको महसुस गरेको देखिन्छ ।

हलभित्र देखिएको भीडबाट हौसिएका रवी अहिले परम्परागत राजनीतिक दललाई होइन दलको नेतृत्वलाई विस्थापित गर्नुपर्छ भन्न थाल्नु भएको छ । यसको अर्थ दल होइन नेता चाहीँ असल भएनन् भन्ने नै हो ।

गत स्थानीय तह निर्वाचनमा केही महत्वपूर्ण पालिकामा स्वतन्त्र उम्मेदवारहरु विजयी भएपछि आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिनेहरुको होड नै चलेको छ । यो होडका कारण काठमाडौंका अधिकांश निर्वाचन क्षेत्र लगभग रिजर्ब भइसकेका छन् ।

यही मेसोमा स्वतन्त्र नै नाम राखेर पार्टी गठन गरेका लामिछाने एउटा मात्रै भए पनि परम्परागत पार्टीको नेतालाई संसदमा जान रोक्नुपर्छ, म रोक्छु भन्दै आउनु भएको छ । पछिल्लो पटक देश दौडाहाका क्रममा देखिएको भीड र समर्थनले उहाँलाई थप हौस्याएको अनुमान लगाउन कठिन छैन ।

रवी लामिछानेको यो अभियान चलिरहेका बेला मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वतन्त्रहरुलाई देश भँडुवाको संज्ञा दिन थाल्नु भएको छ ।

कुनै राजनीतिक दलको झण्डामुनि बस्दैनौँ तर जनताबाट अनुमोदित भएर संसदमा प्रतिनिधित्व गर्छौँ भनेर स्वतन्त्र रुपमै अभियान चलाएकाहरुमाथि एउटा स्थापित दलको नेताले दिएको अभिव्यक्तिले गम्भीर प्रश्न उठाएको छ । के स्वतन्त्र नाममा रवी लामिछानेले खोलेको पार्टी वा अन्य स्वतन्त्र उम्मेदवारहरुसँग परम्परागत दलहरु डराएका हुन् ?

होइन भने लोकतान्त्रिक प्रणाली भएको मुलुकमा कसैले पार्टी गठन गर्नु वा संस्था बनाउनु वा अरु कुनै अभियान चलाउनुमा कुनै एउटा अमूक दललाई के को आपत्ति ? संविधानले देखिएको अधिकार सदुपयोग गर्दै कसैले राजनीतिक दल बनाउँछ भने वा आफूलाई नेता बनाउँछ भने वा कुनै अभियन्ताका रुपमा आफूलाई स्थापित गर्छ भने दलहरु डराउनुपर्ने कारण के ?

त्यसो त एमाले अध्यक्ष ओलीले रवीलाई मात्र होइन आफ्ना पूर्व सहकर्मीहरु सम्मिलित नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुप्रति पनि आफ्नो पूर्ववत् आक्रोश दोहोर्‍याउनु भएको छ ।

उहाँको आक्रोशमा गत निर्वाचनमा प्रत्यक्षतर्फ न्यून सिटमा खुम्चिएको कांग्रेसलाई जिताउन माओवादी र एकीकृत समाजवादी बिँड बनिदिन लागेको गुनासो थियो । उहाँको यो अभिव्यक्तिले आगामी निर्वाचनमा कांग्रेस ठूलो दल बन्न सक्ने र त्यसको कारक चाहीँ माओवादी र एकीकृत समाजवादी बन्ने भन्ने देखिन्छ ।

खैर रवी लामिछानेको पार्टी वा अभियानसँगको होस् वा सत्तारुढ गठबन्धनको चुनावी तालमेलको निर्णयसँगको होस् ओलीमा आगामी निर्वाचनका लागि केही भय, आशंका र कमजोर चित्तवृत्ति स्पष्टै देखिएको छ ।

नेपाली राजनीतिमा पराम्परागत दलहरुको छुट्टै मूल्य र महत्व छ । विभिन्न कालखण्डमा भएका परिवर्तनहरुको नेतृत्व गरेको जस यीनै पुराना दलहरुमा जान्छ । परिवर्तनको नेतृत्व गर्दा नागरिकको विश्वास जित्नु र सबैलाई गोलबद्ध गर्न सक्नु नै यी दलहरुको सफलता थियो र परिवर्तनको प्रयास चाहीँ अवस्य पनि स्तुत्य छ नै । तर विगतका यीनै एकाध उपलब्धिको ब्याज खाइरहने र त्यसपछि नितान्त व्यक्तिवादी भएर बस्ने नेताहरुविरुद्ध कुनै न कुनै स्वरुपमा विद्रोह हुन्छ नै ।

पछिल्लो समय यी दलहरुमाथिको जनआक्रोश वा स्वतन्त्रका नाममा चलेका अभियानहरु विद्रोहका विम्ब हुन् । रवी लामिछानेसँग देखिएको भीड उहाँको जित वा रैथाने पार्टीहरुको हारको सुनिश्चितता नभए पनि अहिलेको राजनीतिक प्रवत्तिविरुद्धको रातो झण्डा अवस्य हो ।

ओली वा अरु कुनै स्थापित भनिएको नेतृत्वले यही रातो झण्डासँगै खतराको घण्टी बज्दा कान थुनेर बस्ने र फेरीमा जस्तो नलीहाड मात्र बजाउन खोज्ने हो भने विस्थापित हुन धेरै चुनाव कुर्नुपर्छ जस्तो देखिँदैन ।