१२ बैशाख २०८१, बुधबार

गाईघाट–दिक्तेल अन्तरगत महुरे–फोक्सिङटार सडकको कालोपत्रे काम तीव्र गतिमा गर्न गाउँपालिका अध्यक्षको दबाब

no payment for road worker daman

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काम चाँडो पुरा गर्न ठेकेदारलाई दबाब दिएका छन् ।

उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम अलपत्र पार्ने निर्माण कम्पनीमध्ये मैनाचुलीका सञ्चालक मदन अधिकारीलाई भेटेर कालोपत्रेको काम तीव्र गतिमा गर्न दबाब दिएका हुन् । 

शनिबार काठमाडौंमा भएको भेटमा अधिकारीले अविलम्ब कालोपत्रेको काम अघि बढाउने र चाँडो काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिका अध्यक्ष राईले सडक कालोपत्रेका क्रममा कामदारले लामो समयसम्म भुक्तानी नपाएको विषयमा पनि प्रश्न उठाएका थिए । 

२०७७ साल असारमा पुरा गर्नेगरी भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभी तथा देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ठेक्का लिएको सडक कालोपत्रेको काम अलपत्र छ ।

महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भन्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको छ ।

भारत कन्स्ट्रक्सन/सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ । 

यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भन्ज्याङ–फोक्सिङटार सडक खण्डको हालसम्म करिब ६० प्रतिशत प्रगति भएको छ । ५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने सर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो । 

निर्माण कम्पनीको ढिलासुस्तीका कारण कालोपत्रे भइसक्नुपर्ने बेला सडकमा वर्षामा हिलाम्मे र हिउँदमा बुङबुङ धुलो उड्ने गरेको छ ।

महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी सहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो । सम्झौता म्याद गुज्रिदा समेत सडक कालोपत्रेको काम पूरा नहुँदा जिल्लावासीले सास्ती खेप्नु परेको छ ।