१३ बैशाख २०८१, बिहीबार

कोरोना नियन्त्रणमा सरकार असफल, सरकारसँग जनताको पीडा बुझ्ने हृदय नै छैन : देउवा

Sher Bahadur Deuba 1

प्रतिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकारलाई कोभिड-१९ ले हुनसक्ने क्षतिबारे कुनै ज्ञान नै नभएको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारसँग जनताको पीडा बुझ्ने हृदय नभएको र जनताको दुखप्रति कुनै संवेदना नभएको आरोप लगाए ।

कोरोना भाइरसको महामारीको समयमा आएको सरकारको नीति तथा कार्यक्रम बरालिएर बहुवर्षीय योजनाको कोरा कल्पनामा अल्झिएको देउवाले टिप्पणी गरे ।

‘यो नीति तथा कार्यक्रम जनतामा आशा र विश्वास जगाउन पूर्णत असफल छ, सरकार महामारी नियन्त्रणकोका लागि गर्न पूर्ण रुपले असफल छ’ उनले भने ।

नेपालमा कोरोना संक्रमण देखिएको ४ महिना र लकडाउन गरेको ५५ दिन भइसक्दा पनि जम्मा २६ हजारको मात्र पीसीआर परीक्षण हुनु दुखद रहेको देउवाले बताए । यत्तिका दिनपछि पनि स्वास्थ्यकर्मीको सुरक्षा उपकरणलगायत आवश्यक सामग्रीको उपलब्धताको प्रत्याभूति नहुनु, भेन्टिलेटर लगायत अन्य उपचार सामग्रीको आवश्यक नहुनु सरकारको कमजोरी भएको उनको भनाइ छ ।

‘म सरकारलाई सोध्न चाहन्छु लकडाउनको यो अवधिमा के तयारी गर्‍यो ?’ उनले भने ।

विदेशमा लाखौं नेपाली कोरोना संक्रमणको जोखिममा रहेका र भारतको सीमावर्ती क्षेत्रमा धेरै अलपत्र रहेको भन्दै देउवाले उनीहरुलाई सुरक्षित तरिकाले घर फर्किने वातावरण बनाउन माग गरे ।

उनले पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन र समुदायस्तरमा पीसीआर परीक्षण ब्यापक बनाउन सरकारलाई आग्रह गरे । नीति तथा कार्यक्रममा सरकार आत्मप्रशंसामा नै रमाएको भन्दै देउवाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसअघिका दुई वर्षको आफ्नै नीति तथा कार्यक्रम पढ्न सुझाव दिए ।

नीति तथा कार्यक्रम कोरा कागज जस्तै

काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रम कोरा कागज जस्तै भएको बताएका छन् ।

आइतबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले ल्याउने नीतिले वर्तमान जटिल अवस्थाको सम्बोधन गर्ने अपेक्षा गरिएपनि त्यसअनुकुल नआएको बताए ।

सरकारमा कोरोनाले गर्नसक्ने क्षतिबारे ज्ञान नभएको, जनताको संवेदना बुझ्न सक्ने हृदय नभएको र यस्तोवेला जनतालाई आस्वस्त पार्ने योजना नभएको देउवाको भनाइ छ ।

उनले एक बर्षको कार्यक्रम बहुबर्षे जस्तै भएको भन्दै कोरोना नियन्त्रणमा सरकार असफल भएको दावी समेत गरे ।

कोरोनाको चार महिना भएको अवस्थामा परीक्षण थोरै हुनु, स्वास्थ्य उपकरण अभाव हुनु, प्रभावबाट मार्कामा परेकालाई उचित राहतको व्यवस्था नहुनु, देशभित्र र बाहिरका मानिसलाई सुरक्षित स्थानामा पुर्‍याउन नसकेकाले सरकार भएको अनुभव जनताले गर्न नसकेको देउवाको भनाइ छ । उनले सरकारलाई अहिलेसम्म के तयारी गर्यो ।

उनले हजारौ मानिस स्वदेश फर्कन चाहेकाले तिनका बारेमा ठोस कार्ययोजना ल्याउन सरकारसँग माग समेत गरे । उनले पीसीआर परीक्षण समुदायमा पुर्याउन, राहत तथा विदेशमा आपतमा परेकालाई स्वदेश फर्काएर क्वारेनटाइनमा राखेर घर पुर्याउन मागसमेत गरे ।

उनले नीजगढ विमान्स्थलदेखि कयौं योजना अलपत्र परेको भन्दै राजनीतिक लोकप्रियताका लागि गरिने घोषणाले नीति तथा कार्यक्रमको गरिमा नै हराएको बताए ।

उनले नीति तथा कार्यक्रममा विगतकै कार्यक्रम दोहोरिएको पनि टिप्पणी गरे । सुशासन, शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रणजस्ता कुरमा जोड दिएको भनेपनि निर्मला हत्यामा संलग्नको पहिचान नगरेर सरकारको दावीलाई गिज्जयाएको देउवाको टिप्पणी छ ।