८ बैशाख २०८१, शनिबार

रुवान्डा नरसंहारका ‘मोस्ट-वान्टेड’ फेलिसीन काबुगा फ्रान्सबाट पक्राउ

Felicien Kabuga scaled

रुवान्डा नरसंहारका म्ख्य अभियुक्त मध्यका एक फेलिसीन काबुगा फ्रान्सबाट पक्राउ ।

रुवान्डाको नरसंहारका मोस्ट वान्टेड आरोपी फेलिसिएन काबुगा शनिबार फ्रान्सको पेरिसबाट पक्राउ परेका छन् । २० औँ शताब्दीको सबैभन्दा खराब जातीय नरसंहार मानिने रुवान्डाको नरसंहारमा प्रमुख भूमिका निभाएको आरोप लागेका काबुगा २५ वर्षदेखि फरार रहेका थिए ।

फ्रान्सको कानुन मन्त्रालयले काबुगालाई राजधानी पेरिस नजिकैबाट पक्राउ गरेको पुष्टि गरेको छ । मन्त्रालयले जारी गरेको बयानमा काबुगा आफनो परिचय लुकाएर फ्रान्समा लुकीछिपी बस्दै आएका पनि उल्लेख गरेको छ ।

रुवान्डाको ‘मोस्ट–वान्टेड’ सूचीमा रहेका उनको टाउकोमाथि ५० लाख डलरको पुरस्कार पनि राखिएको थियो । ८४ वर्षीय काबुगा फ्रान्समा एउटा फ्ल्याटमा छद्म नाममा बस्ने गरेका थिए । फ्रान्सको प्रहरीले जारी गरेको विज्ञप्तिमा उनलाई विश्वकै मोस्ट वान्टेड अपराधी भनिएको छ ।

रुवान्डाका लागि बनाइएको अन्तरराष्ट्रिय क्रिमिनल ट्राइब्युनलले ८४ वर्षीय काबुगामाथि नरसंहार र मानवताविरुद्धको अपराध आरोप तय गरेको थियो ।

Rawadhan

उनीमाथि रुवान्डाको हुतु जातिको चरमपन्थी समूहलाई आर्थिक सहायता गरेको दाबी गरिएको थियो । हुतु जातिका व्यवसायी रहेका काबुगामाथि सन् १९९४ मा १ सय दिनको अवधिमा भएको ८ लाख अल्पसंख्यक तुत्सी समूदायको नरसंहारलाई वित्तपोषण गरेको आरोप छ ।

सन् १९९४ मा भएको रुवान्डाको नरसंहारलाई लगानी गरेको आरोप लागेका फेलिसिएन काबुगा त्यसयता जर्मनी, बेल्जियम, कंगो केन्या र स्वीटजरल्याण्डमा लुक्दै आएका थिए । अमेरिकाले काबुगाको गिरफ्तारी सम्बन्धी जानकारी दिनेलाई ५० लाख डलर पुरस्कारको घोषणा गरेको थियो ।

उनको पक्राउसँगै उनलाई पेरिसको अदालत र त्यसपछि हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा प्रस्तुत गर्ने बाटो खुलेको छ ।

रुवान्डामा गरिएको अनुसन्धानमा राजधानी किगालीमा भेटिएको आर्थिक दस्तावेजमा काबुगाले आफ्नो कम्पनीबाट ठूलो संख्यामा मुह्सेटी (एक प्रकारको तरवारजस्तै हतियार) आयात गरेका थिए । ती हतियार नरसंहारमा व्यापक प्रयोग भएका थिए ।

काबुगाले रेडियो टेलेभिजन मिले कोलिनस पनि स्थापना गरेका थिए जसमा तुत्सीविरुद्ध प्रोपोगान्डा कार्यक्रमहरु चलाइन्थ्यो । उनीमाथि विद्रोहीलाई प्रशिक्षण पनि दिएको आरोप लगाइएको छ ।

काबुगा पूर्वराष्ट्रपति जुभेनाल हाब्यारिनामाका नजिक थिए । उनको विमान खसाइएपछि नै रुवान्डामा १ सय दिन लामो नरसंहार चलेको थियो । काबुगाकी छोरीले हाब्यारिनामाका छोरासँग विवाह गरेकी थिइन् । एजेन्सी

    सम्बन्धित समाचार...