१३ बैशाख २०८१, बिहीबार

भारतबाट हालै आएका थिए रौतहटका १० जना संक्रमित, मलेसियाबाट नेपाल आएको ६६ दिनमा कोरोना

Coronavirus 1

रौतहटमा आइतबार बिहान पहिचान भएका कोरोना भाइरस (कोभिड-१९) का १० जना संक्रमित भारतबाट आएको खुलेको छ ।

राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो । उनीहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरातलगायतका ठउँबाट आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

प्रजिअ घिमिरेका अनुसार भारतबाट फर्केलगत्तै उनीहरुलाई सीधै क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो ।

उनीहरुलाई सीधै क्वारेन्टाइनमा लिइएकोले परिवार र समुदायमा संक्रमणको खतरा नरहेको तर पनि सावधानी अपनाइने प्रजिअ घिमिरले बताए ।

संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ । रौतहटको इशनाथ, वृन्दावन र देवाही गोनाही नगरपालिकामा पहिले नै तीनजना संक्रमति फेला परेका थिए ।

मलेसियाबाट नेपाल आएको ६६ दिनमा कोरोना

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका ३० वर्षीय पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केका थिए । पाँच दिनअघि उनको स्वाब संकलन गरिएको गाउँपालिका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको बुलेटिनमा सिराहा सखुवा–१९ का ३० वर्षीय पुरुष भनिएको छ । जसले यहाँका जनप्रतिनिधिदेखि प्रहरी सबैलाई अलमल्याएको छ । यो गाउँपालिकामा सखुवा–१९ छैन । यो गाउँपालिकामा जम्मा ५ वटा वडा छ । ‘साविका गाउँ विकास समितिमा पनि १९ वटा वडा थिएन,’ अध्यक्ष यादवले भने, ‘ठेगानाले हामीलाई अन्योलमा पारिदिएको छ । बुझ्दै जाँदा सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका भएको खुलेको छ ।’

संक्रमित ६६ दिनअघि मलेसियाबाट घर आएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए । उनी मलेसियाबाट आएर १४ दिन गाउँपालिकाको क्वारेन्टाइनमा बसेको सखुवानन्कारकट्टि गाउँपालिका प्रमुख अध्यक्ष यादवले बताए । उनका अनुसार ६६ दिनअघि विदेशबाट आएका उनलाई अहिले कसरी कोरोना संक्रमण भयो भन्ने खुल्न सकेको छैन । अहिले उनको सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ ।

सिराहा जिल्लामा पहिलोपटक कोरोना संक्रमित पुष्टि भएसँगै यहाँ थप सतर्कता अपनाइको छ । ती युवकमा कोरोना पोजेटिभ भेटिएसँगै गाउँलाई नै सिल गर्ने तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिए । योसँगै प्रदेश नम्बर–२ का आठै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । सिरहामा कोरोना पुष्टि भएको यो पहिलो घटना हो । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।