७ बैशाख २०८१, शुक्रबार

निःशुल्क उपचारका लागि सरकारले तोक्यो यी १७ सरकारी अस्पताल

health ministry

सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको निःशुल्क उपचार हुनेमा काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, वीर अस्पताल महाबौद्ध, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान छन् । यस्तै, भरतपुर अस्पताल चितवनले पनि कोभिडका बिरामीको नि:शुल्क उपचार गर्नेछ ।

प्रदेश १मा विराटनगरस्थित कोसी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको निःशुल्क उपचार गर्नेछन् ।

मधेस प्रदेशका जनकपुर प्रादेशिक अस्पताल, नारायणी अस्पताल वीरगञ्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र बागलुङको धौलागिरी अस्पताल, लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पताल, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तोकिएका छन् ।

सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पताल, डडेल्धुरालाई निःशुल्क उपचार हुने अस्तपताल तोकिएको छ । संक्रमितको उपचारबापत यी अस्पताललाई बिरामीको अवस्था र संख्याका आधारमा अनुदान दिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

केही दिनयता नेपालमा दैनिक १४ प्रतिशतभन्दा बढीका दरले कोरोना संक्रमण बढेपछि सरकारले निःशुल्क उपचारका लागि अस्पताल तोकेको हो । नेपालमा कोरोना संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ ।

296982247 386691366930253 6394023077683152851 n