७ बैशाख २०८१, शुक्रबार

दैनिक भान्सामा प्रयोग हुने उपभोग्य बस्तुको मूल्य वृद्धीले गर्दा जनजीवन कष्टकर बन्दै

khadyanna pasal
फाइल फोटो

दैनिक भान्सामा प्रयोग हुने उपभोग्य बस्तुको मूल्य वृद्धीले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ । मूल्य वृद्धिका कारण दैनिक भान्सा चलाउन मुस्किल हुन थालेका छन् । मंहगीले सर्वसाधारण नागरिकलाई चुल्हो धान्न गारो भएको छ ।

दैनिक उपभोग्य सामग्रीको मूल्य अहिले ५० देखि १०० प्रतिशतसम्म वृद्धि भएको छ । मूल्य वृद्धिले गरिब तथा बिपन्न परिवार भान्सा चलाउन नै मुस्किल परेका छन् । दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिले दैनिक ज्यालादरी मजदुर र आम्दानी थोर हुने सर्बसाधारणलाई परिवार धान्न चर्को परेको गुनासो बढ्दो छ ।

खानेतेल सब भन्दा बढी महँगिएको उपभोग्य बस्तु मध्ये एक हो । केही महिना अघि ६० रुपैँया पर्ने आधा लिटर खाने तेलको मूल्य अहिले १ सय १० पुगेको छ । दाल, चामल, गेडागुडी सबैको भाउ बढेको छ ।

लसुन, प्याज, अदुवा जस्ता मसलाजन्य बस्तु सबैको भाउ बढेको बेला हरियो तरकारी छोइ नसक्नु भएको छ । १ हजारको नोट लिएर बजार निस्कदा एक झोला तरकारी पाउन गाह्रो हुने गरेको गृहिणीहरु बताउँछन् । महँगी बढेपछि भान्सा चलाउन समस्या हुने गरेको बताउँछिन् ।

दैनिक मजदुरी गरि खाने त्रियुगा नगरपालिका– १२ बिसनपुरमा बिलट सदाले दैनिक ज्यालामजदूरी गरि ५ सय कमाएर ल्याउँदा उनको परिवारलाई एक छाक टार्न समस्या हुने गरेको बताए । सबै दिन काम हुँदा सहजै भए पनि वर्षायाम भएकाले काम गर्न नपाउँदा जीवनशैली थप कष्टकर बन्न पुगेको उनको भनाइ छ ।

गरिब तथा बिपन्न दैनिक ज्यालामजदुरी गरि खाने समुदायलाई महँगीको मारले उठ्नै नसक्ने गरी थिचेको छ । बजारमा सबैको भाउ आकाशिएको छ, यता दैनिक उपभोग्य बस्तुको त्यस्तै ।’जति नै मंहगी बढेता पनि हातमुख त जोड्नै पर्छ । जतिसुकै महँगो भए पनि खान त पर्छ’ उनले भने । आफ्नो भान्सा चल्नै नसक्ने अवस्था सिर्जना भएको उनले सुनाए ।

उनीहरु जस्ता हजारौँ ज्याला मजदुरी र निम्न आय भएका गरिब र विपन्न वर्ग गाईघाटमा बसोबास गर्छन् । सदरमुकाम र सहरोन्मुख भएकाले गाउँबाट अस्थायी कमाई गर्न दैनिक ज्याला मजदुरी गर्न आउनेको संख्या निकै छ ।

पछिल्लो समय बढेको मंहगीले दैनिक ज्यालामजदुरी गरि खाने मजदूरलाई जिवन धान्न समस्या भएको नेपाल बिजुली प्लम्बर तथा पेन्टर संघ (क्युपेक) ले जनाएको छ । ‘महँगीले ज्याला मजदुरी गर्न आउने बाहिरका कामदारको जीवनशैली अत्यन्त पीडादायक भएको छ । चामल, तेल, दालदेखि हरियो तरकारी सम्मको भाउ दोब्बर बढेको छ भने यता ज्याला नबढ्दा मजदुरहरु परिवार पाल्नै नसक्ने अवस्थामा पुगेका छन् ।

व्यापारीहरुको भनाइ अनुसार गएको १० वर्षमा सब भन्दा धेरै भाउ बढेको यसै वर्ष हो । लगातार २ वर्ष कोभिड कहरको बहानामा पनि निकै मूल्यवृद्धि भएको थियो । तर सरकारले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने कुनै प्रयास गरेनन् । त्यसपछि स्थानीय तहको निर्बाचनपछि त थग्नै नसक्ने गरि बजार भाउ बढ्यो । त्रियुगा उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष भरत राईले कोभिड कहरले थलिएको अर्थतन्त्रमा लगातारको आन्दोलन हुँदै स्थानीय तह चुनावसम्म झण्डै डेढ वर्ष अनुत्पादक खर्च भएकाले महँगी बढेको बताए ।

अर्थतन्त्र डामाडोल भएको र त्यसैको उपज धान्नै नसक्ने गरी महँगी बढेको राईको भनाइ छ । बजारमा सवारी साधनमा हाल्ने इन्धनको मूल्य वृद्धिको मात्र चर्चा हुन गर्दछ । तर, त्यो भन्दा धेरै मूल्य भान्सा चलाउने उपभोग्य बस्तुको वृद्धि भएको कुराले भने चर्चा पाउँदैनन् । पेट्रोलिय पदार्थ मूल्यबृछि हुदाँ त्यसले चर्चा पाउँछ तर पेट्रोलियम पदार्थमा १०/१५ रुपैया बढ्दा सबैको ध्यान जाने तर बजारमा १ सय प्रतिशत मूल्यवृद्धि हुदै कसैको ध्यान जान सकेको छैनन् कि होला ।