७ बैशाख २०८१, शुक्रबार

आइतबारमात्र खाद्यान्न वितरण गरिने मुगुमा

IMG 20220127 123533

हिमाली जिल्ला मुगुमा आइतबार मात्र खाद्यान्न खुला हुने भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात नहुनु र ठेकेदारले ढुवानी नगर्नाले र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल मौज्दात नहुनाले अब मुगुमा हप्ताको एक दिन आइतबार मात्र खाद्यान्न लिन पाइने भएको हो ।

मुगुमा हिजो आइतबारबाट यस्तो सेवा प्रारम्भ भएको हो । हिजो मात्र एक सय भन्दा बढी क्वीन्टल चामल बिक्री वितरण भएको कार्यालयले जनाएको छ ।

नयाँ चामल ढुवानीको लागि ठेक्का प्रक्रिया सुरु भइ भोलि अन्तिम समय रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुखका अनुसार दुर्गम हिमाली जिल्लाहरुमा खाद्यान्नको नीति अनुसार विपद्, आगलागी जस्ता घटनाहरु घटेमा आपतकालीन र तत्काल राहत उपलब्ध गराउनु पर्ने नीति अनुसार ८ सय ५० क्विन्टल चामल मौज्दातमा राखिएको छ। गरिब, विपन्नहरको समस्यालाई मध्येनजर गर्दे खाद्य व्वयवस्था तथा ब्यापार कम्पनीले हप्ताको एक दिन मात्र खाद्यान्न वितरण गर्न लागेको उनले बताए ।

खाद्यान्नमा चामल मौज्दात कम हुनु र एकबार मात्र खाद्यान्न खुलाइनुले मुगाली जनताहरु बजारको महँगो शुल्क तिरेर उपभोग गरेको जनाइएको छ । शाखा कार्यालयमा चामल पनि पर्याप्त नहुँदा स्थानीयले बजारबाट महँगोमा खरिद गर्न बाध्य छन् ।

‘बजारमा आएको चामल प्रति प्याक १५ सयदेखि २ हजारसम्म बिक्री हुन्छ, किनेर खान सकिँदैन’ सोमवार चामल चामल लिन आएका छायानाथ रारा नगरपालिका वडा नं १३ रुगाका एकल महिला सुकुमा लावडले बताइन् ।

उनले भनिन् ‘आइतबार मात्र खाद्यान्नको कार्यालय खुल्छ भनेर थाहा नै थिएन, घरमा बिहान बेलुका खाने छैन, बजारमा किनेर खाउ भने धेरै पैसा तिर्नुपर्छ,’ लावडले भनिन् । सोमबार पुगेका कारण उनी चामल नलिइ रित्तै फर्किएकी थिइन् ।

डिपो कार्यालय रित्तै

जिल्लामा रहेका पुलु डिपो केन्द्र, सोरुकोट डिपो केन्द्र, श्रीकोट डिपो केन्द्र, रातापानी बिक्री केन्द्र र कालै बिक्री केन्द्र गरी ५ वटा डिपो तथा बिक्री केन्द्र रित्तै छन् ।

डिपो केन्द्रहरुमा कोटा अनुसारको खाद्यान्न ढुवानी हुनु र ठेक्का प्रक्रिया भइरहेको कारण समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुले जनाएको छ । डिपो केन्द्रहरुमा चामल सकिएपछि शाखा कार्यालय मुगुमा आइतवार मात्र चामल लिने सेवाग्राहीको भीड लागेको छ ।