१६ चैत्र २०८०, शुक्रबार

दुधको साक्षी बिरालो यसरी बन्यो एमाले संसदीय छानबिन समितिमा !

samiti

संसदको विशेष छानबिन समितिले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नदेखिएको निष्कर्ष निकालेपछि विवादमा तानिएका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा निर्दोष ठहरिनुभएको छ ।

सत्तारुढ दलले बचाउ गर्दै आएकोमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत नरम बन्दा शर्माले उन्मुक्ति पाएको भन्दै आलोचना भएको छ ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिमा रहेका एमाले सांसदहरुले समितिको निष्कर्षमा फरक मत राखे ।

अनुसन्धान पूर्ण र पर्याप्त हुन नसकेको उनीहरुको आरोप छ । तर, उनीहरुले अपूरो अनुसन्धानलाई पूर्ण गर्ने गरी समितिको म्याद थपको माग गरेनन् । बरु, समितिले बनाएको प्रतिवेदनमा फरक मत मात्र राखेर आफुलाइ जोगाउँदै शर्मालाई चोख्याउन सहयोग गरे ।

अनुसन्धान पूरा गर्ने भन्दा फरक मत राखेर प्रतिवेदन बुझाउने कार्यमा एमालेको भूमिकामाथि सन्देह गरिएको छ । तर, समितिमा रहेका एमाले सांसद आफ्नो निर्णयको बचाउ गर्छन् ।

समिति होस् वा सदनमा दबाब दिएर अवधि थप गरेरै भए पनि अनुसन्धान पूर्ण बनाउनुपर्नेमा एमालेको जोड हुनुपर्थ्यो । अझ एमालेले जेठ १४ मा भएको करको दर हेरफेरको विषयलाई लिएर कानूनी उपचार नै खोज्न सक्थ्यो । तर, एमालेले कानूनी उपचार होइन संसदीय विशेष समिति गठनको माग गर्‍यो ।

समितिमा रहेका एमालेका सांसदहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत पेश गर्नुभयो ।

बजेट निर्माणका क्रममा मन्त्रालयमा प्रवेश गर्ने अनधिकृत व्यक्तिसहित छानबिनको दायरामा रहेकाहरूको कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको, बजेट निर्माणको रात सम्पूर्ण दृश्य संग्रहित दुरुस्त अवस्थाको सीसीटीभी फुटेज उपलब्ध नगराएको, बजेट निर्माणमा संलग्न कर्मचारीको विवरण नदिएको उनीहरुको फरक मतमा उल्लेख छ । अनुसन्धान नै पूर्ण र पर्याप्त हुन नसकेको एमालेको फरक मतबारे सत्तारुढ दलको धारणा भने फरक छ ।

उसो त प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको चर्चा भइरहँदा एमाले माओवादीलाई चिढ्याउने पक्षमा देखिँदैन । समितिमा एमाले नरम हुनुमा यो पनि कारण रहेको ठानिएको छ ।

त्यतिमात्र होइन, माओवादी केन्द्रका प्रभावशाली मानिने नेता शर्मालाइ जोगाउँदा आफु मुछिएको यती होस् वा ओम्नी प्रकरणको छानबिन माग हुनसक्ने भयले पनि एमालेले यो विषयमा मौन बस्न खोजेको विश्लेषण हुन थालेको छ ।

माओवादीबाट अर्थमन्त्री बनेका शर्माका विषयमा कडा बन्दा एमाले मुछिएको वाइडबडी जस्ता अनेकन अनियमितताको फाइल खुल्ने डर पनि एमालेलाई रहेकाले शर्मालाई चोख्याउन एमाले सहयोगी बनेको बुझ्न सकिन्छ । दलहरूको यही नियतले बाँडीचुँडी खाउँ भन्ने तथ्यलाइ थप मद्दत पुर्‍याएको छ ।