इतिहासदेखिनै सदाबहार प्रतिद्वन्द्वी नेपाल र भारत आज भिड्दै

भारतमा जारी २० वर्ष मुनिको साफ च्याम्पियनसिपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
दुई चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भारतबीचको खेल आज साँझ सवा ७ बजे भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ । भारत प्रतियोगिताको साविक विजेता हो । साफको जुनसुकै स्तरको खेलमा नेपाल र भारत इतिहासदेखिनै सदाबहार प्रतिद्वन्द्वी हुन् ।
सन् २०१७ यता कुनै पनि स्तरमा नेपाली टोलीले भारतलाई पराजित गर्न सकेको छैन । फाइनलमा स्थान बनाउन नेपालले आज हुने खेलमा भारतलाई पराजित वा बराबरीमा रोक्न जरुरी छ। भारतलाई पराजित गरे नेपालले एक खेलअगावै फाइनलमा स्थान सुरक्षित गर्नेछ।
समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ। ३ खेलमा ९ अंक जोडेको बंगलादेश फाइनलमा पुग्ने लगभग पक्का भएको छ । दोस्रो स्थानको नेपालको २ खेलमा ६ अंक छ। भारत २ खेलमा ३ अंकसाथ तेस्रो स्थानमा छ। पुछारमा रहेका माल्दिभ्स र श्रीलंकाले कुनै अंक जोडेका छैनन्।
३ खेल हारेको श्रीलंका समूह चरणबाट बाहिरिंदा माल्दिभ्सको सम्भावना अंक गणितमा सीमित छ। प्रतियोगिताको समूह चरणबाट शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। फाइनल खेल अगष्ट ५ मा हुनेछ।