४ बैशाख २०८१, मंगलवार

गाईबस्तुको बच्चा अगेनोमा, सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारको अन्त्य गर्नुपर्छ : थापा

sutkeri ama

१४ श्रावण २०७९, शनिबार । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका अध्यक्ष हीरासिंह थापाले गाईबस्तुको बच्चा अगेनोमा सुत्केरी महिलालाई गोठमा राख्ने संस्कारलाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

शनिबार दैलेख सदरमुकाममा आयोजित सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको १५औं संस्थागत सामाजिक तथा लैङ्गिक परीक्षणमा कार्यकारी प्रमुख थापाले यस्तो बताए ।

संस्थाका संस्थापक अध्यक्षसमेत रहेका थापाले भने, ‘भैँसीले पाडो जन्माउँछ, बाख्राले पाठो जन्माउँछ, गाईले बाच्छो जन्माउँछ, भर्खरै जन्मिने ती पाडो, पाठो बाच्छोलाई अगेनोमा राख्छौ, छुईछिटो गर्दैनौँ तर हाम्रै घरको बहिनी, भाउजू र आमाले बच्चा अर्थात् शिशु जन्माउँदा गोठमा राख्छौ, अब यस्तो खालका कुसंस्कार र प्रर्थालाई अन्त्य गर्नुपर्छ ।’ मान्छेलाई गाई भैँसी र बाख्रा भन्दा पनि तल्लो दर्जामा राख्ने कुसंस्कारलाई अन्त्य नगरी समाजको विकास हुन नसक्ने कार्यकारी प्रमुख थापाको भनाई थियो ।

उनले सोसेक नेपालले लागु औषध दुर्व्यसनी, बाल विवाह अन्त्यका लागि आफूहरूले काम गरिरहेको बताए । ‘हामीले ‘मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारालाई शिरमा राखेर संस्थाका कार्यक्रम तथा क्रियाकलापहरू सञ्चालन गरिरहेका छौँ,’ उनले भने । कार्यकारी प्रमुख थापाले बिहेवारि २० वर्ष पारीको अभियानलाई सफल बनाउन आग्रह गरे । ‘बाल विवाह गर्दा महिलाहरू हिंसामा पर्ने गरेको देखिन्छ, अब बाल विवाहलाई अन्त्य गर्नुपर्छ,’ उनले भने ।

कार्यकारी प्रमुख थापाले संस्थाले संस्थागत एवं समुदायस्तरमा सुधार गर्नुपर्ने सवालमा आफूहरू प्रतिबद्ध रहेको बताए । अब आधारभूत तहमा मात्र नभई माद्यामिक तहमा समेत छात्रवृत्ति स्वरूप शैक्षिक सामग्री उपलब्ध गराउन पहल गर्ने कार्यकारी प्रमुख थापाको भनाई छ ।

सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना र गुराँस गाउँपालिकाले जोखिममा रहेका बालबालिकाहरूलाई समेत सहयोग गरिरहेको कार्यकारी प्रमुख थापाले बताए ।

    सम्बन्धित समाचार...