६ बैशाख २०८१, बिहीबार

झनै चर्कियो खेरसनमा रुस र युक्रेनबीच युद्ध

ukrane

रुस र युक्रेनबीच खेरसनमा युद्ध थप चर्किएको छ ।

युक्रेनले दक्षिणी खेरसन क्षेत्रलाई फिर्ता लिने प्रयास तीव्र पारेसँगै आक्रमण थप बढेको छ। युक्रेनमा आक्रमण शुरू भएयता रुसी कब्जामा परेको क्षेत्रीय राजधानी खेरसन अन्य क्षेत्रसँगको सम्पर्क टुटेको बेलायती रक्षा अधिकारीले बताएका छन् ।

उता रुसले खेरसन क्षेत्रको रक्षा गर्न पूर्वबाट आफ्नो सेनालाई पुनः परिचालन गरिरहेको युक्रेनको दाबी छ। खेरसनमाथिको नियन्त्रण रूसका लागि यसकारण महत्त्वपूर्ण छ किनकि यसले क्रिमियालाई जमिनसँगै जोडेको छ । युक्रेनको दक्षिणी प्रायद्वीप क्रिमियालाई सन् २०१४ मा रुसले कब्जा गरेको थियो ।

पछिल्लो पटक मध्य शहर क्रोपिभ्नित्स्कीमा रुसले मिसाइल प्रहार गर्दा पाँच जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । त्यस्तै पूर्वको बखमुतमा तीन जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । राजधानी कीभ नजिकै एक सैन्य आधार शिविरमा भएको आक्रमणमा १५ जना घाइते भएका छन् । रुसी आक्रमणमा युक्रेनको उत्तरी र दक्षिणी क्षेत्र पनि परेका छन् ।

युक्रेनी सेनाले अमेरिकाले उपलब्ध गराएको लामो दूरीका रकेटले प्रहार गरेपछि खेरसन शहरको एउटा प्रमुख पुल भत्केको छ । यसले रूसलाई एन्टोनिभस्की ब्रिजमा पुग्न र हतियार पठाउन रोक्ने छ ।