१२ बैशाख २०८१, बुधबार

इन्जिनियर बन्न अब लाइसेन्स परीक्षा पास गर्नुपर्ने

engineer
सांकेतिक तस्विर

इन्जिनियर बन्नका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने भएको छ ।

२०५५ सालमा बनेको नेपाल इन्जिनियरिङ परिषद् ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसदबाट पारित भएसँगै इन्जिनियरिङ्मा उच्चशिक्षा हासिल गरेकाहरुले पेशा व्यवसाय गर्न अनिवार्यरुपमा लाइसेन्स परीक्षा पास गर्नुपर्ने भएको हो । इन्जिनियरिङ् परिषद्ले अब छिट्टै परीक्षाका लागि आवश्यक पाठ्यक्रम बनाउने तयारी गरेको छ ।

नेपालमा त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिमाञ्चल लगायतका विश्वविद्यालयअन्तर्गत ५२ वटा क्याम्पसमा इन्जिनियरिङ् विषयको अध्ययन हुन्छ । ती क्याम्पसबाट वर्षेनी ८ हजार इन्जिनियर उत्पादन हुन्छन् । यसबाहेक भारत, चीनलगायत देशमा पुगेर बर्सेनी ५ हजारले इन्जिनियरिङ शिक्षा पुरा गर्ने गरेको तथ्यांक छ ।

अहिलेसम्म इन्जिनियरिङमा स्नातक गरेपछि नेपाल इन्जिनियरिङ परिषद्ले विश्वविद्यालयको प्रमाणपत्रका आधारमा लाइसेन्स दिने गरेको छ । अबदेखि भने परीक्षा लिएर मात्र लाइसेन्स दिने व्यवस्था गर्न लागिएको छ।

इन्जिनियरिङ परिषद् ऐन संशोधन गर्न बनेको विधेयक संसदबाट पारित भएसँगै यसै वर्षबाट यो व्यवस्था कार्यान्वयनमा आउने छ ।

विश्वविद्यालयको शैक्षिक प्रमाणपत्रका आधारमा लाइसेन्स दिने व्यवस्थाले सडक पूर्वाधारलगायत निर्माणका काममा कमसल मात्र नभइ गुणस्तरमाथि नै बेला–बेलामा प्रस्न उठ्ने गरेका छन् । अब लाइसेन्सका लागि अनिवार्य परीक्षा पास गर्नुपर्ने व्यवस्थाले इन्जिनियरिङ शिक्षाकै गुणस्तरमा सुधार आउने अपेक्षा विज्ञको छ ।

परिषद्का अनुसार नेपालमा करिब ७० हजार इन्जिनियर छन् । इन्जिनियरको लाइसेन्स परीक्षाका लागि नेपाल इन्जिनियरिङ परिषद्ले पाठ्यक्रम, परीक्षा, प्रश्नपत्रको कार्यविधि बनाउन अब ढिलाई गर्नु हुँदैन ।