१६ चैत्र २०८०, शुक्रबार

परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन छलफल जारी छ: अध्यक्ष प्रचण्ड

prachanda

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ ।

राजधानीमा आजदेखि सुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रस्ट पार्नुभयो ।

“तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो”, उहाँले भन्नुभयो, “त्यसमा छलफल जारी छ, निष्कर्ष निस्केको छैन ।” वर्तमान सत्ता गठबन्धनमा रहेको वामपन्थी शक्तिहरू आगामी निर्वाचनमा मोर्चा बनाएर जान लागेका छन् । त्यसका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी लगायत दल आन्तरिक छलफलमा जुटेका छन् ।

अध्यक्ष दाहालले नेपाली राजनीतिको मूलधार माओवादी आन्दोलन भएको भन्दै जनताको असली पार्टी माओवादी भए पनि यो विषयलाई स्थापित गर्न नसकिएको बताउनुभयो ।

माओवादी पार्टीको दबाबमा ‘स्टेट पार्टनसीप प्रोग्राम’ (एसपिपी)लाई नेपाल सरकारले अस्वीकार गरेको जनाउँदै उहाँले विगतमा एसपिपीमा सहभागी हुनुपर्छ भनेर लागिपरेको पार्टी र नेता अहिले बढी राष्ट्रवादी देखिन खोजेको बताउनुभयो ।

निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायमै बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आगामी निर्वाचनसम्म र आवश्यकता रहँदासम्म गठबन्धन कायम रहने बताउनुभयो ।