८ बैशाख २०८१, शनिबार

धनगढीका स्वतन्त्र मेयर गोपाल भक्तपुर नगरपालिकामा

IMG 9388 1

स्वतन्त्र रूपमा काठमाडौं महानगरपालिकामा मेयर पदमा विजयी बालेन्द्र शाहपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गर्न कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र रूपमा विजयी नगर प्रमुख गोपाल हमाल बुधबार भक्तपुर पुगेका छन् । भक्तपुर नगरपालिकाकाको शिक्षा, स्वास्थ्य र विशेषगरी फोहरमैला व्यवस्थापनबारे अध्ययन भ्रमणमा उनी आएको बताइएको छ ।

नगर प्रमुख हमाललाई भक्तपुर नगर प्रमुख प्रजापतिले भेट गरी नगरपालिकाद्वारा सञ्चालित विविध गतिविधिहरूबारे जानकारी गराए । यसअघि मेयर प्रजापतिलाई भेट्न काठमाडौंका मेयर बालेन उहिले नै आइसकेका थिए ।

यसअघि उनी चुनावको मतगणनाबाट आफू जित्ने निश्चित देखिएसँगै पनि भक्तपुर नगरपालिका कार्यालय पुगेका थिए । उनले त्यो बेला कार्यवाहक मेयर एवं भक्तपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रेमगोपाल कर्माचार्यलगायत नगरपालिकाका कर्मचारीहरूसँग भेट गरेका थिए ।

बुधबारको भेटमा भक्तपुर नगर प्रमुख प्रजापतिले स्वास्थ्य क्षेत्रमा जनताको सहज पहुँचको लागि भक्तपुर नपाले स्वास्थ्य केन्द्र हुँदै अहिले १०० शय्याको ख्वप अस्पतालमार्फत अन्तरङ्ग सेवा सुरु गरिसकेको अवगत गराए । प्रमुख प्रजापतिले ख्वप अस्पतालबाट व्यापक जनताले सस्तो र स्तरीय स्वास्थ्य सेवा पाइरहेको चर्चा पनि गरे ।

भक्तपुर नपाले आजभन्दा ४ वर्ष अघिदेखि कुहिने र नकुहिने फोहर अलगअलग दिन संकलन गर्दै आएको र हाल कुहिने फोहरबाट कम्पोस्ट मल निर्माण गरी किसानहरूलाई सस्तोमा बिक्रीसमेत सुरु गरिसकेको उनले जानकारी गराए ।

विकास निर्माणको सन्दर्भमा भक्तपुर नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्फत पारदर्शी ढङ्गले गुणस्तरीय निर्माण गर्दै आइरहेको उनले बताए । उनले भक्तपुर नपा युवा तथा विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालित सीपमूलक तालिमले रोजगारी सिर्जना भएको बताए ।

धनगढी उपमहानरपालिका प्रमुख हमालले सबैसँग सहकार्य गर्दै अगाडि बढिरहेको बताउँदै धनगढी उपमहानरले वडा क्लिनकको अवधारणा अनुसार गर्भवती महिलाको लागि यसै आर्थिक वर्षदेखि विशेषज्ञसहित १९ वटै वडामा अल्ट्रासाउन्ड, इसीजी र ल्याबको स्वास्थ्य सेवा निःशुल्क रूपमै सुरु गरेको बताए ।

उनले भक्तपुर नपाको सरसफाइ र फोहोर व्यवस्थापनको चर्चा व्यापक रहेको हुँदा यहाँबाट सिक्ने उद्देश्यले भक्तपुर आएको बताए । जनतालाई स्थानीय सरकारको औचित्यता पुष्टि हुने ढंगले जनप्रतिनिधिहरूले काम गर्नुपर्नेमा उनले जोड दिए ।

भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, धनगढी उपमहानरपालिकाबाट महेशप्रसाद दाहाल र रूपक जोशीको उपस्थिति रहेको थियो ।

यसअघि भक्तपुरका नगर प्रमुख प्रजापतिले नगर प्रमुख हमाललाई खादा र भादगाउँले टोपीले स्वागत गरेका थिए । सोही क्रममा भ्रमण टोलीले भक्तपुर नगरबाट सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप इन्जिनियरिङ कलेजकोसमेत स्थलगत अवलोकन भ्रमण गरेको थियो ।

IMG 9348