१५ चैत्र २०८०, बिहीबार

नेपाल मनी लन्ड्रिङको कालोसूचीमा पर्नसक्ने खतरा छ: गगन थापा

gagan thapa
फाइल फोटो

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नेपाल मनी लन्ड्रिङको कालोसूचीमा पर्नसक्ने खतरा भएको बताएका छन् ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल ‘फाइन्सियल एक्सन टास्ककोर्ष’ सँग सम्बन्धित एसिया प्यासिफिक ग्रुप अन मनि लन्ड्रीको कालोसूचीमा पर्नसक्ने खतरा भएको बताएका हुन् ।

थापाले विगतमा कालोसूचीमा पर्दापर्दै नेपाल बचेको भए पनि यो पटक बच्ने अवस्था नभएको भनेर विज्ञहरू त्रसित रहेको औंल्याएका छन् ।

उनले भने, ‘कालोसूचीमा नेपाल पर्‍यो भने विप्रेषण र आयातमा निर्भर नेपाल जस्तो मुलुकको अन्तर्राष्ट्रिय बैंकिङ कारोबार बन्द हुने, एलसी खोल्न नपाउने यस्तो अवस्था हामी कल्पना पनि गर्न सक्दैनौं ।’

उनले मूल्यांकनको ४० वटा सूचकांकमा नेपालको अवस्था के छ ? विज्ञहरूले आशंका गरेको जस्तो कालोसूचीमा पर्नसक्ने अवस्था बन्दै गएको हो भने, त्यसमा पर्न नदिन, त्यसबाट जोगिनका लागि सरकारले के–के गरिरहेको छ ? भन्ने विषय अबिलम्ब संसदलाई जानकारी गराउन समेत सरकारकारसँग माग गरेका छन् ।