१२ बैशाख २०८१, बुधबार

सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पतालमा सतर्कता, कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी

dhulikhel hospital

उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो ।

उनको मृत्यु भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा। सुमनराज ताम्राकारले जानकारी दिए ।

ती महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि घर लगिएकी उनमा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोनाभाइरस पुष्टि भएको छैनः स्वास्थ्य मन्त्रालय

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सिन्धुपाल्चोककी २९ वर्षीया महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएको र वैशाख २४ गते उनको नर्भल डेलिभरी भएको जानकारी दिए ।

उनी २५ गते डिस्चार्ज भएको र त्यसपछि सिन्धुपाल्चोक घर गएपछि ज्वरो, स्वासप्रश्वासलगायका समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको जानकारी पाएको देवकोटाले बताए ।

तर निको हुनुको साटो उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि धुलीखेल अस्पतालमा उपचारका लागि जाँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी आएको डा देवकोटाले बताए ।

यससम्बन्धमा मन्त्रालयले विस्तृत विवरण लिइरहेको भन्दै कोरोनासम्बन्धी रिपोर्ट प्राप्त भएपछि मन्त्रालयले आधिकारिक जानकारी निक्योलका साथ दिने देवकोटाले बताए ।

    सम्बन्धित समाचार...