१३ बैशाख २०८१, बिहीबार

स्कारपिओ छाडेर मोटरसाइकलमा कार्यालय जाने नगर प्रमुख

thapa1658834205

सोमबार साँझ करिब साढे ७ बजेको थियो । भूमिकास्थान नगरपालिका–४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउँदै गरेका बेला भेटिए ।

बाटोमा बाइक रोकेर रेनकोट लगाउँदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा हुनुहुन्थ्यो । नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कंदै गर्दा मकैडाँडामा पानी परेपछि निथ्रुक्क भिज्नुभएको हो ।

भूमिकास्थान नगरपालिका ४ घर भएका थापा मोटरसाइकलमा दैनिक ३२ किमी यात्रा गर्नुहुन्छ । आफ्नै निजी मोटरसाइकलमा यात्रा गरिरहनुभएका मेयर थापाले आफ्नै मोटरसाइकलमा यात्रा गर्नुको बेग्लै आनन्द भएको बताउनुभयो ।

“म मोटरसाइकलमा यात्रा गरेको देखेपछि साथीहरूले आश्चर्य मान्दै मेयरसाव गाडी छैन र भन्नुहुन्छ,” उहाँले भन्नुभयो “यही मोटरसाइकल देखाउँदै यो घोडा जस्तो मान्नु भो र भन्ने गरेको छु ।”

मेयर थापाले आफू निर्वाचित भइसकेपछि नगरपालिकाले भाडामा प्रयोग गरिरहेको एउटा स्कारपिओ फिर्ता गरिसक्नुभएको छ । “नगरपालिकासँगग दुईवटा आफ्नै गाडी छन् वर्षौदेखि अर्को भाडाको गाडी पनि प्रयोग भइरहेको रहेछ,” मेयर थापाले भन्नुभयो, “हामी आएपछि त्यो गाडीको नवीकरण गरेनौं, १ साउनदेखि त्यो गाडी फिर्ता भइसक्यो ।”

थापाले आफूले सस्तो लोकप्रियताका लागि मोटरसाइकल नचढेको बताउनुभयो । विशेष परिस्थितिमा भने नगरको गाडी प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो ।