११ बैशाख २०८१, मंगलवार

औपचारिक तथा अनौपचारिक छलफल थालदै वाम एकताको भजन गाउन थाले नेताहरू !

bam
फाइल फोटो

नेपालमा फेरि वाम एकताको चर्चा शुरु भएको छ । कांग्रेससँग मिलेर समाजवाद नआउने बताउँदै आएका सत्तासीन कम्युनिष्ट नेताहरूले सके एकता नत्र चुनावी गठबन्धन गरेरै भए पनि अघि बढ्नुपर्ने बताउन थालेका हुन् ।

खासगरी आगामी संघ र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै कम्युनिष्ट नेताहरू वाम एकताको आवश्यकताका विषयमा खुल्न थालेका छन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूले वाम एकतामा जोड दिँदै औपचारिक तथा अनौपचारिक छलफल थालेका छन् । दलहरुबीच सकेसम्मा निर्वाचन अघि नै एकता र एकता सम्भव नभए वामगठबन्धन गर्ने गरी छलफल अघि बढेको हो ।

कम्युनिष्ट नेताहरूले कांग्रेससँगको गठबन्धनलाई अप्राकृतिक भन्दै वाम एकताको भजन गाउन थालेका छन् । देशका वामपन्थी पार्टीहरूले एकले-अर्कालाई सिध्याउन लागे वामपन्थी आन्दोलन विसर्जनको दिशामा जाने बताउँदै वामपन्थी शक्तिबीचको सहकार्यमा जोड दिएका छन् ।

अहिले वाम एकताको गीत शुरु हुनुको पछाडिको कारण वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम हो । कांग्रेसमा दम्भ बढ्दै गएको र स्थानीय निर्वाचनमा पनि धोका भएको निष्कर्षमा माओवादी केन्द्र र एकीकृत समाजवादी पुगेका छन् । अबको निर्वाचनमा वामपन्थी र समाजवादी शक्तिहरुको एउटै मोर्चा बनाएर निर्वाचनमा जानुपर्नेमा उनीहरुको जोड छ ।

अनौपचारिक छलफलमा जुटेका एकीकृत समाजवादीका नेताहरू वाम गठबन्धन या एकताको ठोस आधार खोजिरहेका छन् ।तर, जानकारहरू भने तत्काल वाम एकता हुने सम्भावना कम रहेको बताउँछन् ।

२०७४ सालमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भयो । कार्यदिशाका हिसाबले अलग्गै बस्नुपर्ने अवस्था नरहे पनि राजनीतिक रोटी सेक्न उद्धत रहेका नेताहरूबीचको एकता उनीहरूकै स्वार्थमा निर्भर हुने देखिन्छ ।

त्यसो त फेरि बज्न थालेको वाम एकताको गीत सुन्दा राम्रै लागे पनि कार्यकर्ताको बीचमा जाँदा यसको औचित्यको खोजी भने अवश्य हुनेछ ।