१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन सरकारलाई निर्देशन

Health Insurance

स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिन र अक्सिजेनेटर समस्या समाधानका लागि तत्काल कूटनीतिक पहल थाल्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना नियन्त्रण, अक्सिजेनेटरको व्यवस्था र स्वास्थ्य बीमा निरन्तरताका लागि तत्काल पहल गर्न सरकारलाई निर्देशन दिएको हो ।

शिक्षा समितिको बैठकमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले अक्सिजेनेरेटर अभाव गंगालालमा मात्र नभई नेपालका सबै अस्पतालमा भएको जानकारी दिनुभयो । उहाँले भारतमा समेत अक्सिजेनेरेटर अभाव भएको जानकारी दिँदै तत्काल कूटनीतिक पहल नगरिए अवस्था अझै भयावह हुनेतर्फ सचेत गराउनुभयो ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर सेनेन्द्रराज उप्रेतीले बीमालाई प्रभावकारी बनाउन बोर्डको स्थायी दरबन्दी र संरचना पास हुनुपर्ने र ऐन पूर्ण कार्यान्वयनका लागि जनशक्ति तथा संरचना अभावले समस्या भइरहेको जानकारी गराउनुभयो ।

सांसदहरुले पनि यी समस्या समाधान गर्न सरकार गम्भिर हुनुपर्ने जोड दिएका छन् भने स्वास्थ्य बीमालाई पूर्ववत् राख्नुपर्ने पनि उनीहरुको भनाइ छ ।

समिति सदस्य र सम्बन्धित निकायबीच भएको छलफललाई मध्येनजर गर्दै समितिले स्वास्थ्य बीमा ऐनअनुसार स्वास्थ्य बीमा कार्यक्रम अगाडी बढ्नुपर्ने र अक्सिजेनेरेटर कूटनीतिक पहल गरेर ल्याउनुपर्ने सुझाव तथा निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयले भने अक्सिजेनेटर कोरियाबाट १० वटा दिने आश्वसन आएको र बीमालाई सरकारी र सामुदायिक अस्पतालबाट मात्रै सञ्चालन गर्ने विषयमा क्याविनेटले नै निर्णय गर्ने स्वास्थ्य मन्त्रीको जवाफ छ ।

बैठकमा कोरोना कहरलाई मध्येनजर गर्दै सरकारले गर्नुपर्ने तयारीको विषयमा समेत छलफल गरिएको थियो ।