१५ चैत्र २०८०, बिहीबार

सडक प्रर्दशनमा राप्रपा नेपालको जनवर्गीय संगठन, कमल थापा पनि सहभागी

RPP Nepal2022 07 22 02 29 20 800x548 50 1

कमल थापा नेतृत्वको राप्रपा नेपालका जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेजीलगायतका माग राख्दै संयुक्त रुपमा काठमाडाैँमा विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार अध्यक्ष कमल थापासमेत उपस्थित माइतीघरबाट सुरु भएको सो प्रदर्शनमा सो पार्टीका सबै जनवर्गीय संगठनहरूको उपस्थिति छ ।   

सो पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार जनवर्गीय संगठनहरूले प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग राखेका छन् ।

माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । युवक, विद्यार्थी, महिला, युवा मोर्चा, मजदुर, पूर्वप्रहरी, धार्मिक संगठन, सांस्कृतिक संगठनलगायतका जनवर्गीय संगठनहरूको प्रदर्शनमा सहभागीता छ । 

राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माणसँगै सडक केन्द्रित आन्दोलन सुरु गरेको महामन्त्री बर्तौलाले बताए । उनका अनुसार आन्दोलनलाई आगामी दिनमा चरणबद्ध रुपमा अघि बढाइनेछ ।