८ बैशाख २०८१, शनिबार

ओपन हार्ट सर्जरी देशभरका अस्पतालमा प्रभावित

Capture 4

काठमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबार शल्यक्रिया गर्नका लागि भर्ना भएका ४५ जनालाई घर पठायो । कारण थियो– शल्यक्रियाका लागि चाहिने अक्सीजेनेटर अभाव ।

वयस्क व्यक्तिको ओपन हार्ट सर्जरी गर्दा मुटु र फोक्सोलाई कृतिमरुपमा काम गराउन अक्सीजेनेटर आवश्यक पर्छ । तर त्यही उपकरण अभाव भएपछि अस्पतालले बिरामीलाई फिर्ता पठाएको हो ।

यता काठमाडौंको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले पनि त्यही उपकरणको अभाव देखाउँदै अत्यावश्यक बाहेकका बिरामीको ओपन हार्ट सर्जरी पर सारेको छ ।

अस्पतालहरुले अक्सीजेनेटर खरिदको प्रक्रिया नै अघी नबढाएका भने होइनन् । सम्बन्धित कम्पनीसँग सम्झौतासमेत गरेका छन् । तर उत्पादनमै कमी आउँदा कहिले आउँछ भन्ने टुङ्गो लागेको छैन ।

एउटा उपकरणका लागि ५० हजार रुपैयाँसम्म पर्ने गरेको छ । एकजना बिरामीलाई मात्र प्रयोग गर्न मिल्ने भएकाले पुन: प्रयोग गर्न मिल्दैन । तर देशभरका अस्पतालमा यो उपकरण अभाव हुन थालेकाले उपचार सेवा नै प्रभावित हुँदा पनि सरकारले केही गर्न सकेको छैन ।

मुटुजस्तो संवेदनशील अंगको समयमै उपचार नभए बिरामीको ज्यानै जान सक्छ । तर अहिले धेरै जसो अस्पतालमा अक्सीजेनेटर अभाव भइसक्दा पनि ल्याउनेतर्फ सरकारी तबरबाट पहल नहुनु दुखद् हो ।