७ बैशाख २०८१, शुक्रबार

पहिलो कार्यकालमा नेपाललाई टि-ट्वेन्टी विश्वकपसम्म पुर्‍याएका पुवुदु यो पटक भने सफल हुन सकेनन्

pubudu

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुवुदु दशानायकेले राजीनामा दिएका छन् । विश्व क्रिकेट लिग-टु अन्तर्गत स्कटल्यान्ड सिरिजबाट फर्किएलगत्तै पुवुदुले आज प्रशिक्षकको जिम्मेवारीबाट हटेको घोषणा गरेका हुन् ।

उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । पहिलो कार्यकालमा नेपाललाई टि-ट्वेन्टी विश्वकपसम्म पुर्‍याएका पुवुदु यो पटक भने सफल हुन सकेनन् ।

लिग टु अन्तर्गत पछिल्ला दुई सिरिज अमेरिका र स्कटल्यान्डमा नेपालले अपेक्षा गरे अनुसारको प्रदर्शन नगरेपछि प्रशिक्षक पुवुदु आलोचित बनेका थिए । पुवुदुले स्कटल्यान्डबाट फर्किएको भोलिपल्टै नेपाली टिमको मुख्य प्रशिक्षकमा नरहेको निर्णय सुनाए ।

पुवुदुले पारिवारिक समस्याका कारण आफ्नो कामलाई निरन्तरता दिन नसक्ने भन्दै क्यानमा राजीनामा बुझाएका थिए । स्कटल्यान्ड जानु पााच दिन अघि नै राजीनामा दिए पनि पुवुदुले बुधबार मात्र खेलाडीलाई जानकारी दिए ।

क्यान- खेलाडी विवादपछि राष्ट्रिय टिमलाई फुटको आरोप लाग्दै आएको छ । क्यानले खेलाडी बर्गीकरणको विषयमा जथाभावी प्रतिकृया दिएर अनुशासन उल्लंघन गरेको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएको थियो ।

पुवुदुले अहिले टिममा कुनै समस्या नरहेको दाबी गरेका छन् । पुवुदु गत पुसमा दोस्रो पटक नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको नेतृत्वमा नेपालले १४ ओडिआइमा ९ मा हार, ४ जीत र एक बराबरीको नतिजा निकाल्यो ।

१३ टि-ट्वान्टी मध्ये १० खेल जितेको नेपालले ३ मा पराजय बेहोरेको थियो । यसअघि सन् २०११ देखि २०१५ सम्म पुबुदु मुख्य प्रशिक्षक रहादा नेपालले टि-ट्वेन्टी विश्वकपमा डेब्यु गरेको थियो । क्यानले एक सातापछि नया प्रशिक्षकको नियुक्ति प्रक्रिया सुरु गर्ने जनाएको छ ।

    सम्बन्धित समाचार...