१५ चैत्र २०८०, बिहीबार

देशलाई विकास र स्थिरता दिन एमालेको बहुमतको सरकार चाहिन्छः केपी शर्मा ओली

kp oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले देखिएको विकृति र विसंगतिलाई रोक्न अर्को निर्वाचनपछि एमालेको बहुमतको सरकार चाहिने बताउनुभएको छ ।

बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बुधबार ओलीले आफूले साढे तीन वर्ष सरकार चलाउँदा निकै राम्रोसँग चलाएको तर एक वर्षअघिदेखि बनेको सरकारले केही काम गर्न नसकेको आरोप लगाउनुभयो ।

‘हामीले सरकार चलाउँदा कोभिड थियो । दुई वर्ष त्यसकै रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्यो । तर अहिले कोभिड छैन । यो सरकार निकम्मा भयो । त्यसैले अर्को निर्वाचनपछि एमालेको बहुमत सरकार चाहिन्छ,’ ओलीले बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचन एमालेका लागि राम्रो नभएको बताउँदै अबको निर्वाचनमा त्यस्तो हुँदैन भनेर प्रतिबद्धता जनाउँन नेता कार्यकर्तालाई कसम खुवाउनुभयो ।

उहाँले सबैतिरबाट आक्रमण हुँदा पनि एमाले दोस्रो ठूलो दल बनेको उल्लेख गर्दै केही दलले भने एमालेको बिरुवा सक्यौं भन्दै हिँडेकोमा आपत्ति जनाउनुभयो । अर्काको बुई चढेर १०–१५ सिट ल्याउने पार्टीले एमाले सकियो भन्दै हिँडेकाले त्यस्तो भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो ।