८ बैशाख २०८१, शनिबार

फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक, शिक्षक बन्‍न प्रदीपको संघर्ष

Prakash ie1uf5Hv6e

फिल्म ‘प्रकाश’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै २ मिनेट १४ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो । फिल्मको शीर्ष भूमिका प्रदीप खड्काले निर्वाह गरेका छन् ।

‘प्रकाश’को ट्रेलरले अघिल्लो फिल्महरुमा उस्तै भूमिकामा बाहिरी आवरण मात्र परिवर्तन गरिरहेका प्रदीपले यसपटक भने आफूलाई परिवर्तन गरेका छन् । सार्वजनिक ट्रेलरले फिल्मले एक युवाले माओवादी द्वन्द्वलाई पृष्ठभूमिमा राखेर सरकारी शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै प्रदीपले यो फिल्ममा आफूले हिँडिरहेको बाटोभन्दा फरक बाटो हिँड्ने प्रयास गरेको बताएका छन् । ‘मैले पहिले फिल्ममा गरेको भूमिका भन्दा भिन्न भूमिका गरेको छु । सुरु सुरुमा यसका परिणामलाई लिएर अलि दुविधा थियो । तर पोस्टर र टिजरमा पाएको मायाले भोलि परिणाम जेसुकै भए पनि आज चाहिँ सुन्तुष्ट रहेको छु,’ प्रदीपले भने । उनले कार्यक्रममा फिल्मको तयारीका लागि अनुप बरालका अभिनय र शारीरिक हाउभाउका कुरा सिकेकोदेखि जुम्लाको चरित्रमा डुब्न खाली खुट्टा हिँडेकोसम्म अनुभव सुनाएका थिए ।

प्राय चकलेटी लुक्समा देखिँदै आइरहेका प्रदीप यसमा भने फरक छन् । उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको संवत पहिलो हो । प्रदीप आफ्नो प्रेमको अवतार भन्दा भिन्न छन् । स्थापित फिल्म ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका प्रदीप यसपटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ । प्रकाश बन्न उनले निकै संघर्ष गरेको देखिन्छ । फिल्ममा उनले जुम्लेली भाषा बोलेका छन् भने उनको लुक्सले विपन्न परिवारको दुःख र पीडा झल्काउँछ ।

निर्देशक दिनेश राउतले प्रदीपले फिल्ममा प्रशस्त मेहनत गरेको बताउँदै फिल्मले कर्णालीको जनजीवनलाई रसिलो गरी प्रस्तुत गर्ने प्रयास गरेको बताए । उनले प्रदीपको पूर्व छविलाई लिएर सुरुमा आशंका भए पनि प्रदीपले सुटिङअघि नै गरेको मेहनतले ढुक्क बनाएको बताएका थिए ।

विकास सुबेदीको लेखन रहेको फिल्म माओवादी युद्धमा सहभागी बेपत्ता परिवारको कथा विपन्न परिवारको शिक्षित युवकले सरकारी शिक्षक बनेर आफ्नो बुबाको चाहना र आफ्नो सपना पूरा गर्न गर्ने संघर्षको देखाउँछ । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदीपसँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

दिया मास्केले ‘प्रकाश’मा आफूले निर्वाह गरेको चरित्र अहिलेसम्मकै गाह्रो चरित्र भएको बताउँदै निर्देशक राउतको प्रशंसा गरेकी थिइन् । थिएटरको पृष्ठभूमिबाट आएकी रेनुको यो पहिलो फिल्म हो । फिल्ममा उनले प्रदीपको जोडी भएर अभिनय गरेकी छिन् ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ । फिल्मको निर्माता महेन्द्र अधिकारी हुन् ।

    सम्बन्धित समाचार...