१३ बैशाख २०८१, बिहीबार

दश प्रतिशतले बढ्यो कोरोना

corona virus graph

जनस्वास्थ्यका मापदण्डको पालनामा भएको हेलचेक्य्राइँले कोरोना संक्रमण दर अत्यासलाग्दो गरी बढेको छ । आज मात्र संक्रमण दर १६ प्रतिशतभन्दा माथी पुगेको छ ।

२३ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालमा फेरि बिरामी भर्ना हुने क्रम पनि बढेको छ ।

आइतबार कोभिड संक्रमण दर करिब ८ प्रतिशत थियो । तर सोमबार संक्रमण दर बढेर दोब्बरभन्दा बढी अर्थात साढे १६ प्रतिशत पुगेको छ । संक्रमण दर बढेको मात्र छैन, गम्भीर प्रकृतिका बिरामीको संख्या पनि बढ्न थालेको छ ।

अहिले देशभर १५ जनाको आइसीयु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । असारको पहिलो सातासम्म १ प्रतिशतभन्दा कम भएको संक्रमण दर त्यसयता लगातार बढ्दै छ । तर स्वास्थ्य मन्त्रालय भने अहिलेसम्मको अवस्था सामान्य नै भएको विश्लेषण गरेर बसेको छ ।

कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएकाहरु पनि धमाधम संक्रमित हुन थालेको छन् । तर उनीहरुमा जटिल समस्या भने कम हुने विज्ञ बताउँछन् । अहिलेसम्म कुल जनसंख्याको ७० दशमलव १ प्रतिशतले कोभिडविरुद्धको खोपको पूर्ण मात्रा र ७० दशमलव ४ प्रतिशतले एक मात्रा खोप पाएका छन् ।

बुस्टर डोज लगाउनेको संख्या ६९ लाख २४ हजार ६ सय २१ छ । कोभिड विरुद्धको खोपको बुस्टर मात्रा लगाउनेको संख्या निकै कम छ । सरकारले घर दैलो कार्यक्रम गरेर खोपलाई तिब्रता दिने बताए पनि सकेको छैन । चिकित्सकहरुले कोभिडविरुद्धको खोपसँगै स्वास्थ्य मापदण्डको पालनामा कडाइको विकल्प नभएको बताएका छन् ।

कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले हेलचेक्रयाइँ गर्न नहुने चिकित्सक बताउँछन् । स्वास्थ्य मन्त्रालयले अहिलेको संक्रमणलाई चौथो लहरको सुरुआत भनिसकेकाले सुरुवाती चरणमै सचेत नभए भोलिका दिनमा महामारीले विकराल रुप नलेला भन्न सकिन्न ।