१३ बैशाख २०८१, बिहीबार

अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको हात रहेको यादवको खुलासा !

Upendra Yadav

सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताउनु भएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बन्नु भएको खुलासा गर्नुभयो ।

नेपालको राजनीतिमा कतै न कतै भूराजनीतिक प्रभाव देखिँदै आएको स्पष्ट पारे । राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा बाह्य प्रभाव पनि सँगै जोडिएर आउने गरेको उनले उल्लेख गरे ।

“…हाम्रो मुलुक ल्यान्डलक मुलुक हो । अल्पविकसित मुलुक हो । र, राजनीतिक रूपमा अहिले पनि अस्थिर नै छ । यति अस्थिर छ, हाम्रो पूर्वप्रधानमन्त्रीजी हुनुहुन्छ, उहाँसँगसँगै म उहाँकै क्याबिनेटको उपप्रधानमन्त्री थिएँ । म पूर्व भएँ । केही दिनपछि उहाँ पनि पूर्व हुनुभएछ ।

यो पनि भूराजनीतिकै प्रभाव हो,” उनले भने, “कतै न कतै नेपालको राजनीतिक अस्थिरता भूराजनीतिकै कारण सुरुदेखि नै प्रभावित भएर आएको छ । राजनीतिक अस्थिरता नेपालको राजनीतिमा अस्थिरताका आन्तरिक कारणहरु धेरै छन । तर, बाह्य कारणहरु पनि जोडिएका छन् ।”

अध्यक्ष यादवले सरकारले रुस–युक्रेन युद्धमा युक्रेनलाई साथ लिएर गल्ती गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पछिल्लो समय मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

अध्यक्ष लिङदेनले पछिल्लो दिनमा सहायता र, विकासको नाममा सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको बताउनुभयो ।

अध्यक्ष लिङदेनले सबै दलको सहमतिमा साझा परराष्ट्र नीति बनाउन सके मुलुकले बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने पनि पटकपटक दोहोर्‍याउनुभयो ।