८ बैशाख २०८१, शनिबार

आज ६ जनामा कोरोना संक्रमण, बाराबाट आएका थिए ७ वर्षीय बालक

corona nepal

बिहीबार साँझ थप थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि विहीबार एकै दिन ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २, कपिलवस्तु, नवलपरासी पूर्व, धनुषा र धादिङका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, चन्द्रागिरि नगरपालिकाका ३२ वर्षका पुरुष, धनुषा निवासी १७ वर्षीय महिला, कपिलवस्तुकी ६ वर्षीया बालिका, धादिङ निवासी ३० वर्षीया महिला र नवलपरासीका ४९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

कपिलवस्तु घर भएकी ६ वर्षकी बालिका काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् ।

काठमाडौंका संक्रमित ७ वर्षीय बालक बाराबाट आएका थिए

बिहीबार कोरोना पुष्टि भएका काठमाडौं, चन्द्रागिरि नगरपालिका, दहचोकका ७ वर्षीय बालक गत वैशाख ६ गते बाराबाट आएको खुलेको छ।

संक्रमित बालक आफ्नो मामाघर बाराबाट आफ्नी आमासँगै आएको चन्द्रगिरि नगरपालिका-१ का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए।

संक्रमित बालककी आमाले आफू र छोरा चैत ६ गते बारा माइती गएको र वैशाख ६ गते काठमाडौं फर्किएको भन्नुभएको छ, उनले भने।

अहिले संक्रमित बालकलाई अस्पताल लैजाने तयारी भइरहेको छ। स्थानीयको सहयोगमा बाहिरबाट आएको भनेपछि उनीहरू स्वाब परीक्षण गराउन पुगेका थिए। आमा र छोराको कोरोना परीक्षण गरिएकोमा छोराको रिपोर्ट पोजेटिभ आएको हो।

बालकका परिवारमा उनीसहित बुवा र आमा छन्। उनीहरूको स्थायी घर दोलखा रहेको बताइएको छ।

वडाध्यक्ष केसीका अनुसार संक्रमित बालकका आमाबुवा सामान्य खेती-किसानी गर्छन्। संक्रमित बालकको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भोलिबाट सुरू गरिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ।

बिहीबार ७ वर्षीय बालकसहित ६ जना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमित संख्या २ सय ४९ पुगेको छ।