१२ बैशाख २०८१, बुधबार

२०६ जनामा कोरोना सङ्क्रमण पुष्टि, उपत्यकामा मात्रै १२५ सङ्क्रमित

corona insurance

पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज तीन हजार बढी नमूना परीक्षण गर्दा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २ हजार ८२ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा १७७ र १ हजार ९३ नमुनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ गरी कुल २०६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको छ ।

आज उपत्यकामा १२५ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा १००, ललितपुरमा १८ र भक्तपुरमा ७ सङ्क्रमित भेटिएका छन् । काठमाडौँ उपत्यकामा मात्रै सक्रिय सङ्क्रमितको सङ्ख्या ६९४ छ ।

होम आइसोलेसनमा ९८४ र संस्थागत आइसोलेसनमा २१ छन् । सोमध्ये १२ जना आइसियु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बुधवार ५४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । हालसम्म ११ लाख २१ हजार ५०७ सङ्क्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ६३ हजार ३७८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

अहिले विश्वभर कोरोना भाइरसको ‘बिए–५’ भेरियन्ट फैलिएको जनाउँदै उहाँले सङ्क्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गर्नुभयो ।