१४ बैशाख २०८१, शुक्रबार

निरीक्षण गर्न जापानले विकास गर्‍याे सर्पको आकारको रोबोट

snake drone

जापानका अन्वेषकहरूले एक उन्नत सर्पको आकारको रोबोट विकास गरेका छन्, जसले सिढी चढ्न र ‘ड्रेनपाइप’मा आफ्नो बाटो घुमाउन सक्नेछ । यस्ता उपकरणहरू चाँडै नै प्रकोप प्रभावित क्षेत्रहरूमा दुर्गम स्थानहरूको सर्वेक्षणमा प्रयोग हुने विश्वास गरिएको छ ।

२.५ मिटर लामो र ६ केजी तौल भएको यो नयाँ रोबोट भत्किएका भवनहरूको निरीक्षणका लागि प्रयोग गर्न सकिने क्योटो विश्वविद्यालयका रोबोटिक्स प्राध्यापक फुमितोसी मात्सुनोले बताए ।

उनको टोलीले दुईदेखि तीन वर्षभित्र यन्त्रलाई व्यावहारिक प्रयोगमा ल्याउने लक्ष्य राखेको  निक्केई जापानले जनाएको छ ।

प्याटेन्ट प्रविधिको उक्त रोबोटलाई यूकेएइएको रेस (रिमोट एप्लिकेसन इन च्यालेन्जिङ इनभाइरनोमेन्ट्स)ले विकसित गरेको हो । यो सात वर्षीय परियोजना हो । 

यन्त्र आफ्नो आकार परिवर्तन गरेर सिढी चढ्न र तल झर्न सक्छ । यन्त्रलाई एक अपरेटरद्वारा टाढाबाट नियन्त्रण गरिन्छ, जसले टुप्पोमा जडान गरिएको क्यामेराबाट तस्बीर  हेर्न सक्छन् ।