८ बैशाख २०८१, शनिबार

शनिबारदेखि लागू हुनेगरी सबै सवारीसाधन सञ्चालनका पास रद्ध

Ministry of Home Affairs

सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।

आज बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

‘जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका कुनैपनि पासले मान्यता पाउने छैनन् । अब पास बाहकले जिल्लाभित्रै पनि सो पास प्रयोग गर्न पाउँदैनन्’, उनले भने ।

कारोनाभाइरसको संक्रमण बढेसँगै गृहमन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने नीति अनुरुप सो निर्णय गरेको छ । यो निर्णय देशभर नै लागू गर्नेगरी गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर गरिसकेको छ।

पछिल्लो समय पासको दुरुपयोग गर्दै मानिसहरुको अनावश्यक रुपमा आउजाउ हुने र भिडभाड हुने गरेको गुनासो बढेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत नाकामा कडाइ गर्नुका साथै लकडाउन खुकुलो नबनाउन यसअघिको मन्त्रिपरिषद् बैठकमा निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनसँगै बिहीबारदेखि लागू हुनेगरी एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने निर्णय गर्दै गृहले पास रद्द गरेको थियो ।

पछिल्लो समय देशभर कोरोना संक्रमित थपिँदै जाँदा संक्रमण रोकथाममा नै चुनौति थपिएको बेला गृहको यो निर्णय आएको हो। हालसम्म देशभर २४६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।