१५ चैत्र २०८०, बिहीबार

बेथिति भेरी अस्पतालमा: अग्रिम हाजिर गर्छन् कर्मचारी

bheri hospital

बाँकेको भेरी अस्पतालका चिकित्सकसहित कर्मचारी समयमा कार्यालयमा नपुग्ने र अग्रिम हाजिर गर्ने गरेको पाइएको छ ।

२ जना चिकित्सक, चार जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगीले ३–४ दिनदेखि एक हप्तासम्मको अग्रिम हाजिर गरेको भेटिएको हो ।

साथै अस्पतालका ३ सय ७८ जना चिकित्सकसहित कर्मचारीमध्ये ८८ जनाको मात्रै हाजिरी गरेको र २ सय ९० जना कर्मचारी तोकिएको समयमा अस्पतालमा नभएको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले भेरी अस्पतालमा छड्के जाँच गर्‍यो । चेकजाँचका क्रममा समयमा अस्पतालमा उपलब्ध नभएको र केही कर्मचारीले केही दिनपछिसम्मको हािजर गरेको पाइयो ।

केही कर्मचारीले १०–१५ दिनसम्म पनि हाजिर पनि नगरेको र हाजिरी कपीमा काज या बिदा भनेर उल्लेख नगरेको भेटिएको हो ।

छड्केमा परेका कर्मचारीमाथि लापरबाहीको विषय हेरेर स्पष्टीकरण सोध्ने, ग्रेड कटौती गर्ने, बढुवा रोक्का गर्ने र जागिरबाट नै हटाउनेसम्मको कारबाही हुनसक्ने कानूनी व्यवस्था छ ।

संघीय सरकारको मातहतमा रहेको भेरी अस्पतालमा चिकित्सक, नर्स र अन्य कर्मचारीले अस्पताल प्रशासनलाई नटेर्ने प्रवृत्ति छ भन्ने सूचना पाएपछि जिल्ला प्रशासनले छड्के निरीक्षण गरेको थियो ।

ढिलो कार्यालय जाने, छिट्टै निस्किने जस्ता कारणले सेवाग्राहीले सुविधा नपाएको गुनासोको आधारमा छड्के गरिएको जिल्ला प्रशासनले बताएको छ । लापवाही गर्ने कर्मचारीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

लापरबाही गरेको पाइएका चिकित्सक तथा कर्मचारीलाई यसअघि २०७८ साउन २२ गते पनि कारबाहीका लागि मन्त्रालयमा पत्र पठाएको थियो ।

तर, कारवाहीको प्रक्रिया भने अघि बढेन । हाजिर गरेर मात्र काम शुरु गर्न व्यवहारिक कठिनाइ हुने गरेको अस्पताल प्रशासनको भनाइ छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालमा दैनिक ८ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । तर अस्पतालका कर्मचारीको लापवाहीका कारण गुणस्तरीय सेवा प्रवाह भने हुन सकेको छैन ।