६ बैशाख २०८१, बिहीबार

अयोग्यलाई त कारबाही हुन्छ, तर जनताले प्रश्न उठाउने उम्मेदवारलाई टिकट दिनेलाई के हुन्छ ?

Nainshing Mahar
फाइल फोटो

कांग्रेस नेता नैनसिंह महरले स्थानीय निर्वाचनको सन्दर्भमा पार्टी पराजित भएको ठाउँमा पार्टीले समीक्षा गर्नू पर्ने र जितेको ठाउँमा पनि अन्तरघात भएकाले त्यसको पनि समीक्षा हुनुपर्ने माग राखेका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै महरले भने, ‘बागी उम्मेदवार, तिनका समर्थक, प्रस्तावकसँगै गठबन्धनमा असहयोग गर्नेलाई अनुशासनको कारबाही गर्ने कुरा त छदैछ । तर, जनताले प्रश्न उठाउने खालका अयोग्य उम्मेदवारलाई टिकट दिएर चुनाव हारियो भने त्यस्तो टिकट दिने व्यक्तिलाई पनि अनुशासनको दायरामा ल्याउनुपर्छ ।’

आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले ७० प्रतिशत युवालाई उम्मेदवारका रुपमा अघि सार्नू पार्टीका लागि हितकर हुने केन्द्रीय सदस्य महरले सुझाव दिएका छन् । ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको मुख्य कार्यालयमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा महरले पार्टीले युवा पंत्तिलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका हुन् ।

‘कांग्रेसमा चार पुस्ताको समन्वय, समझदारी र अपनत्वले मात्रै आगामी दिनमा संघ तथा प्रदेशको निर्वाचनमा हाम्रा लागि सहज हुन्छ। एउटा ६० माथिको पुस्ता छ, अर्को ६० देखि ४५ सम्मको पुस्ता छ। तेस्रो भनेको ३० देखि ४५ र अर्को ३० मुनीको छ,’ महरले सुझाव दिँदै भने, ‘नेपालको संविधानले १८ वर्षभन्दा माथिकालाई वयस्क मानेर मतदानको अधिकार दिएको छ।

यस्तो अवस्थामा यी सबै उमेरहरूका मानिसलाई मिलाएर लगे मात्रै निर्वाचन जित्न सकिन्छ। र, पार्टीले गति लिन सक्छ।’ संविधानले नै २५ वर्षमाथिका व्यक्तिलाई उम्मेदवार बन्न सक्ने व्यवस्था गरेको बताउँदै महरले अबको स्थानीय तहमा २५ देखि ६० वर्ष उमेरसमूहका ७० प्रतिशत व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने बताए ।

महरले पार्टीका क्रियाशील रहेको ठूलो समूह युवा नै भएकाले उनीहरूको मनोभावना बुझ्नुपर्ने बताए । यसरी हेर्दा ३२ वर्षमुनीका मतदाताले मतपरिणामलाई धेरै तलमाथि पार्नसक्ने देखिएकाले युवामाझ लोकप्रिय बन्नेगरी पार्टी अघि बन्नुपर्ने महरको सुझाव छ ।

‘अर्को कुरा पुरानो पुस्ता पनि योग्य छ। तर, केही पाएको छैन । त्यो पुस्तालाई पनि सम्झाउनु पर्ने चुनौती छ । नत्र उनीहरूको मन भाँडिन सक्ने जोखिम छ । त्यसैले उनीहरूलाई ३० प्रतिशतभित्र समेटेर उचित स्थान दिनुपर्छ । यसरी रणनीतिक रुपमा अघि बढ्यो भने पार्टीमा द्वन्द्व पनि हुँदैन । सबै अट्ने बाटो पनि हुन्छ,’ महरले भने । अहिले स्वतन्त्रहरूको उदय भइहेको बेला युवाहरूलाई अवसर दिँदा सबैसँग लड्न सहज हुने महरको भनाइ छ ।

यसका अलावा पार्टी जनजीविकाका सवालमा गम्भीर हुनुपर्ने सुझाव महरको छ । ‘मूल्य वृद्धिका कुरामा, पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कुरामा, सुशासनका कुरामा, विकासका कुरामा, शिक्षा र स्वास्थ्यका कुरामा पार्टी गम्भीर हुनुपर्छ । केपी ओलीलाई लगाइरहेका आरोप हामीलाई दोहोर्‍याउने अधिकार छैन । त्यसैले यसमा गम्भीर बनौं,’ महरले भने ।

पार्टीले जनताका मुद्दा उठाएर उनीहरूकै माझमा रहेर काम गर्न सकेमात्रै प्रदेश र केन्द्रको निर्वाचन सहजै जित्नसकिने उनले बताए । स्थानीय तहमा जितेका जनप्रतिनिधिलाई देश र पार्टीका लागि बढी जवाफदेहि बनाउनुपर्ने महरले बताए । उनीहरू प्रत्येक्ष जनतासँग जोडिएका हुने भएकाले उनीहरूलाई बढी सक्रिय बनाउनु आवश्यक रहेको महरले बताए ।

‘उनीहरू पार्टी र देशका प्रति जवाफदेही भएनन् भने राम्रो नतिजा ल्याउन सकिँदैन । अनुशासन हिनता बढे समस्या हुन्छ । गल्ती गर्नेहरूलाई पार्टीबाट निकाल्ने वा उसकै पदै खारेज गरिदिए पनि हुन्छ,’ महरले भने ।

महरले गठबन्धनका विषयमा पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन् । उनले गठबन्धन गरेर जाने भए सबै राजनीतिक दलको सामूहिक नारा के हुन्छ भन्दै प्रश्न गरेका छन् । ‘अहिले कम्युनिस्टहरूलाई एकतावद्ध बनाउन बाह्य शक्तिहरू पनि सक्रिय छन् । केही मानिसहरूको आवतजावत पनि बढिरहेको छ । यस्तो अवस्थामा गठबन्धन हुन पनि सक्छ, नहुन पनि सक्छ,’ महरले भने, ‘यस्तो अवस्थामा पार्टी एकल रुपमा निर्वाचन लड्न पनि पूर्ण रुपमा तयार रहनुपर्छ । यस्तो बेला हामीले गठबन्धन भए कसरी जाने नभएर कसरी जाने भन्ने विषयमा छलफल गर्नूपर्छ ।’

महरले अरुको वैशाखीमा टेकेर पार लाग्न सकिन्छ भन्ने कुरा सबैले त्याग्नुपर्ने महरले बताए । उनले पदाधिकारी र केन्द्रीय समितिको नाममा सिंगो ओज घटाउने काम नगर्न पनि पार्टी पंतिलाई सुझाव दिएका छन् । उनले केन्द्रीय समितका पदाधिकारी भूमिका विहीन जस्तै भएको गुनासो गर्दै नेतृत्वले कुनै न कुनै भूमिका दिएर सक्रिय गराउनुपर्ने बताए ।

‘केन्द्रीय कार्यसमितिको बैठक खाली केन्द्री सम्पादन समितिको निर्णय अनुमोदन गर्नका लागि मात्रै हो जस्तो पनि पार्नु हुँदैन ।

उनले पार्टीका भातृ र सुवेच्छुक संस्थाको पूर्णतामा समेत पार्टी नेतृत्व गम्भीर हुननसकेको आरोप लगाएका छन् । ‘पार्टी, भातृ संस्था र सुवेच्छुक संस्था तीन वटै गठन गर्न सक्यो भने ३५ हजारभन्दा बढीले जिम्मेवारी पाउँछन् । चुनाव आइरहेको समयमा ३५ हजारलाई किन सक्रिय नपार्ने ? उनीहरूको हात बाध्ने काम किन गर्ने ?,’ महरले प्रश्न गरे ।

उनले भातृ र सुवेच्छुक संस्थालाई यस महिनाभित्रै पूर्णता दिनुपर्ने धारणा राखेका छन् । विधान संसोधन गरेर भए पनि अन्तरिक विधानका माध्यमले सबै भातृ र सुवेच्छुक संस्थालाई ठूलो कारको कमिटी बनाउनु पर्ने महरले बताए । प्रदेश कमिटी पनि बनाउन आवश्यक रहेको बताउँदै उनले त्यसलाई पदाधिकारीसहितको बनाउनुपर्ने धारणा राखे ।

नेविसंघ, महिला संघ र तरुण दलको आकार ठूलो बनाउनुपर्ने महरको सुझाव छ । उनले नेविसंघको त विधान अनुसार कुनै समिति नै नभएको गुनासो गरे । ‘वडामा भएका हाइस्कुलमा कमिटी गठन गर्ने जिम्मेवारी कांग्रेसको वडा समितिलाई दिने । पालिकाभित्रको कमिटी र पालिकाभित्रका नीजि क्याम्पसमा कमिटी गठन गर्न पालिका समितिलाई जिम्मेवारी दिने, नेविसंघको जिल्ला कमिटी निर्माण गर्न पार्टीको जिल्ला कमिटीलाई जिम्मेवारी दिने, प्रदेशको कमिटी गठन गर्न पार्टीको प्रदेश कमिटी र केन्द्रीय कमिटी गठन गर्न पार्टीको केन्द्रीय समितिले जिम्मा लिनुपर्छ,’ उनले भने ।

सात प्रदेशमा रहेका ठूला क्याम्पस र भ्यालिका ठूला क्याम्पसमा केन्द्रीय समितिको मातहत राख्ने र अन्य अधिकार तल दिनुपर्ने महरले बताए । यसो गर्न सकेमात्रै पार्टी बलियो र गतिशिल हुनसक्ने उनको ठहर छ । बैठकमा कांग्रेसका सातवटै प्रदेशका अध्यक्षहरूले बोल्ने क्रम जारी छ ।