८ बैशाख २०८१, शनिबार

लामो समयसम्म भुक्तानी नहुँदा स्वास्थ्य बीमामा उपचार सेवा प्रभावित

Health Insurance

स्वास्थ्य बीमा बोर्डबाट लामो समयसम्म भुक्तानी नपाउँदा देशका ठूला अस्पतालहरुले स्वास्थ्य बीमा कार्यक्रम नै रोक्न थालेका छन् । यसको प्रत्यक्ष मार बिरामीमा पर्न थालेको छ । तर स्वास्थ्य मन्त्रालय भने स्वास्थ्य संस्थाहरुले असहयोग गर्न नमिल्ने भन्दै बीमामा देखिएका समस्या दुईचार महिनामै समाधान हुने दाबी गर्छ ।

स्वास्थ्य बीमा बोर्डले देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थालाई करिब १३ अर्ब भुक्तानी गर्न बाँकी छ । वि.सं २०७२ सालमा शुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा करिब ५५ लाख नागरिक आवद्ध छन् । तर बेलाबखतमा अस्पतालहरुले सरकारले बीमा रकम भुक्तानी नगरेको भन्दै बीमितलाई सेवा नदिँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल, धुलिखेल अस्पताल र वीर अस्पतालसहित विभिन्न निजी अस्पतालहरुले लामो समयदेखि बीमाबापतको भुक्तानी पाउन सकिरहेका छैनन् । बेलैमा भुक्तानी नपाउँदा बिरामीलाई स्वास्थ्य बीमाको सुविधा दिन नसकिरहेको अस्पतालको गुनासो छ ।

सरकारले देशका ४ सय ५० अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र सेवा उपभोगमा सुधार ल्याउन यो कार्यक्रम शुरु गरिएको हो ।

तर स्वास्थ्य बीमा बोर्डले सम्बन्धित संस्थालाई बेलैमा भुक्तानी नदिँदा सेवामा समस्या देखिएको हो । तर बीमा बोर्डले जस्तै स्वास्थ्य मन्त्रालय पनि जनशक्तिकै अभावमा अस्पतालहरुको भुक्तानी रोकिएको दाबी गर्छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएदेखि नै व्यवस्थित हुन नसकेको गुनासो आउने गरेको थियो । पछिल्लो समय यो विषय बजेटसँग पनि जोडिएको छ र थप अन्योल बढेको छ । यस्तो अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम खाली जनशक्तिको अभावमा मात्रै अल्झिएको जवाफ मन्त्रालयले दिने गरेको छ ।

कतिपय अस्पतालमा स्वास्थ्य बीमाको दुरुपयोगसमेत भएको गुनासो हुने गरेको छ । कतिपय ठाउँमा बीमितहरुले आधारभूत बाहेकका उपचार सेवा पाउन सकेका छैनन् ।

कतिपयमा चाहीँ लामो समयदेखिको भुक्तानी नपाएको भन्दै अस्पतालले सेवा नै बन्द गर्ने चेतावनी दिएपछि स्वास्थ्य बीमा कार्यक्रमसँग जोडिएका लक्षित नागरिकहरु थप मर्कामा पर्ने देखिन्छ ।