७ बैशाख २०८१, शुक्रबार

जीर्ण कलेजहरुको भौतिक पूर्वाधार निर्माणमा काम गर्न नसकेको मन्त्रीको स्वीकारोक्ति

devendra paudel
फाइल फोटो

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको विषयमा संसदमा आलोचना सुन्नु परेको बताउनु भएको छ ।

त्रिभुवन विश्वविद्यालयको ६३औँ वार्षिक दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले त्रिवि सुधारको माग संसदमा धेरै उठ्ने गरेको बताउनुभएको हो ।

कार्यक्रममा उहाँले त्रिचन्द्र कलेजलगायत देशभर जीर्ण रहेका कलेज र विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणमा काम गर्न नसकेको स्वीकार गर्नुभयो ।

भूकम्पले क्षति पुगेका विद्यालयको पुनर्निर्माणमा दातृ संस्थाको सहयोग कागजी रुपमा मात्रै पाएको र व्यवहारमा नपाउँदा पुनर्निर्माणमा ढिलाई भएको दाबी गर्नुभयो ।

सरकारले उच्च शिक्षा र प्रौढ शिक्षालाई हेर्न नजर एउटै बनाएको भन्दै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष प्रा. डा. वसन्त ढकालले सरकारी प्रणालीलाई परिवर्तन गर्न माग गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय स्थापनको ६३ वर्ष पुग्दा पनि अझै त्रिवि ‘एजुकेशन फर नलेजमा’ नै सीमित रहेकोप्रति मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदै अब ‘एजुकेशन फर स्कील, एजुकेशन फर इनोभेसन र एजुकेशन फर इम्पावरमेन्ट’ बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्रिविले आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको छ ।