१३ बैशाख २०८१, बिहीबार

के फेरि पनि ओली, प्रचण्ड र माधव एक होलान् त ?

ncp baluwatar Nekapa Meeting
फाइल फोटो

सत्ता गठबन्धनभित्रै दरारको संकेत देखिँदा आगामी निर्वाचनलाई लक्षित गरी पुनः वाम एकताको बाँसुरी बज्न थालेको छ ।

खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूले वाम एकताको विषय कोट्याउँदै औपचारिक तथा अनौपचारिक छलफल थालेका छन् ।

एमालेले पनि वर्तमान पाँचदलीय गठबन्धनको औचित्य नभएको भन्दै वाम एकताका लागि छलफल गर्न सक्ने संकेत दिएको छ । के वाम एकता होला त ?

करिब डेढ वर्षअघि नेकपाबाट अलग बनेका एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावअघि नै एकता गर्ने हो कि भन्ने चर्चा चल्न थालेको छ ।

खासगरी सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले कांग्रेससँगको गठबन्धन फलदायी नबनेको निष्कर्ष निकालेपछि वाम एकताको प्रयासमा छलफल शुरू हुन थालेका छन् ।

एमाले पनि वर्तमान पाँचदलीय गठबन्धन भत्काउन वाम एकताको प्रयासमा जोडिन सकारात्मक बन्न थालेको छ । विगतमा पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए पनि केही समयअघि सम्पन्न स्थानीय तह निर्वाचन परिणामपछि आ–आफ्ना कमजोरी औँल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महशुस गरेपनि तीन दलबीच विश्वासको वातावरण भने बनिसकेको छैन । तैपनि वाम एकताको अपरिहार्यता देख्दै वाम शक्तिहरूबीच छलफल प्रारम्भ गरेको नेताहरू बताउँछन् ।

माओवादी केन्द्रले निर्वाचनमा सत्तासाझेदार दल कांग्रेस स्वार्थी भएको निष्कर्ष निकालेको छ । त्यसैले पनि विगतमा सबैको गल्ती स्वीकार गरेर वाम शक्तिहरू एक हुनुपर्ने मत माओवादी केन्द्रभित्र छ ।

उता एकीकृत समाजवादीका नेताहरूलाई पनि वाम एकताको अपरिहार्यता खड्किएको छ । तर पनि एमालेले विश्वसनीय आधार बनाउनुपर्नेमा उसको जोड छ ।

त्यसो त निर्वाचनको मत परिणामले मात्रै होइन वर्तमान सत्तागठबन्धनबाटै एमाले झस्किएको छ । त्यसैले पनि एमालेले आगामी निर्वाचनमा गठबन्धनभित्र गडबडी ल्याउने कोशिस गरिरहेको छ ।

भित्र वर्तमान सत्तागबन्धन तोडेर ध्रुवीकरणको कुरा गरिरहेको एमाले बाहिर भने वाम एकताको ठोस आधार तयार भइनसकेको उसको भनाइ छ ।

एमाले नेताहरूमा माओवादी केन्द्र र एकीकृत समाजवादीले कम्युनिष्ट सरकार ढालेर कांग्रेसको पाउमा सत्ता सुम्पिएको र पार्टी विभाजन गरेको तुष भने मरिसकेको छैन ।

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकमा समेत वाम गठबन्धनको आवश्यकता रहेको आवाज थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रतिवेदन र तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरू आपसी छलफलमा जुट्नुले पनि वाम एकतालाई नेताहरूले प्राथमिकता दिएको प्रतीत हुन्छ । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम छलफलमै जुट्नुभयो ।

ईगो र टकरावले फुटेका कम्युनिष्टहरूलाई पुनर्विचार गर्ने अवसर भने स्थानीय निर्वाचनले दिएको छ । उता गत संघ र प्रदेशसभा निर्वाचनमा वाम पार्टीहरू एक भएर संसदमा करिब दुईतिहाईको शक्ति प्राप्त गरेका थिए । त्यसैले पनि उनीहरूले वाम एकतामा जोड दिएको बुझ्न सकिन्छ ।