१२ बैशाख २०८१, बुधबार

१६ वर्षदेखि जंगलमा डडेल्धुराको भित्रि मधेशका बाढी प्रभावित

dadeldhura

सरकारले पुनर्स्थापना नगरिदिँदा डडेल्धुराको भित्रि मधेश क्षेत्रका बाढी प्रभावित १६ वर्षदेखि जंगलमा बस्दै आएका छन् ।

२०६२ सालमा शीर्ष र रंगुन खोलामा आएको बाढीबाट विस्थापितलाई पुनर्स्थापन गर्ने आश्वासन पटक-पटक दिइए पनि पूरा भएको छैन । बाढी प्रभावितहरुको अवस्था कष्टकर हुँदै गएको छ ।

२०६२ साल असोजमा आएको बाढीले तत्कालीन शीर्ष गाविसका लदौली र रछयानी गाउँ बगाएपछि ६५ भन्दा बढी परिवारको बिचल्ली भएको थियो ।

बाढीमा ३२ जनाले ज्यान गुमाएका थिए भने ५ सयभन्दा बढी रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । सरकारले बाढी प्रभावितलाई पुनर्स्थापनाको आश्वासन दिएको बर्षौं बित्दा पनि केही भएको छैन । प्रभावितहरु अहिलेसम्म सामुदायिक वनको जंगलमा बस्दै आएका छन् ।

शीर्ष र रंगुन खोलामा बाढी आएकै वर्ष स्थानीय प्रशासनले ज्यान गुमाएका परिवारलाई किरिया खर्च बापत केही रकम उपलब्ध गराएको थियो । त्यसयता कुनै सहयोग नपाएको प्रभावितहरुको गुनासो छ ।

सरकारले अहिले पनि आश्वासन दिन भने छाडेको छैन । शिर्षका बाढीहरुलाई प्रक्रिया पुर्‍याएर जग्गा उपलब्ध गराउँदै घर निर्माणको काम भईरहेको सरकारी अधिकारीहरु बताउँछन् ।

अधिकांश बाढी प्रभावितहरु जोगबुढा र शीर्षका सामुदायिक वनमा बस्दै भएका छन् । तर वनकर्मीहरुले वन क्षेत्रमा बसोबास गर्न नहुने भन्दै तर्साउने गरेको उनीहरुको गुनासो छ । सरकारले उनीहरुका लागि कुनै व्यवस्था नगर्ने हो भने दिनचर्या झन कष्टकर बन्दै जानेछ ।